अन्तर्राष्ट्रिय श्रमिक दिवसले मर्यादित श्रमको वातावरण निर्माण गरोस् : राष्ट्रपति

अन्तर्राष्ट्रिय श्रमिक दिवसले मर्यादित श्रमको वातावरण निर्माण गरोस् : राष्ट्रपति

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १¸२०२१) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान प्रकट गरेकी छिन्। 

यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरिन्। महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकप्रति  धन्यवाद व्यक्त गर्दै उनीहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न राष्ट्रपतिले सम्बद्ध पक्षको ध्यान आकृष्ट गराएकी छिन्। 

मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ। उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुन्छ। यसका लागि मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नु पर्दछ। समष्टिमा पुँजी र श्रमको समिश्रणबाट आर्जित मुनाफाको न्यायोचित वितरणबाट मात्रै श्रमिकहरूको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने मलाई लाग्दछ–सन्देशमा भनिएको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९को दोस्रो लहरका कारण देशमा पुनः सङ्क्रमण बढ्दै गएको हुँदा यसको फैलावटलाई तोड्न नेपाल सरकारले विभिन्न शहर एवं जिल्लामा निषेधाज्ञा जारी गरेबाट जनजीवनमा केही अप्ठ्यारो स्थिति सिर्जना भएता पनि जनताको जीवन रक्षालाई पहिलो प्राथमिकता दिँदै सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्न र निषेधाज्ञाका नियमहरु कडाका साथ अवलम्बन गर्न पनि राष्ट्रपति भण्डारीले सबैलाई आह्वान गरेकी छिन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसले रोजगारीको सिर्जना, श्रमको सम्मान,  उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना  व्यक्त गरेकी छिन्। विश्वरभरिका श्रमिकको ऐक्यबद्धता एवं श्रमको सम्मानका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ।रासस

Skip This
Skip This
Logo