प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल बैंकमा खाता अनलाइनबाट खोलेका छन्। डिजिटल नेपालको अभियान अन्तर्गत अनलाइनबाटै बैंक खाता खोल्ने सुरुवातस्वरुप प्रधानमन्त्री ओलीले आइतबार बैंक खाता खोलेका हुन्।
आज सूचना प्रविधि दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा सरकारका सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले यसकाे जानकारी दिए।
प्रविधि दिवसको अवसरमा प्रधानमन्त्रीबाट नै अनलाइनबाटै बैंक खाता खोल्ने, केवाई पनि अनलाइनबाटै भर्न मिल्ने, सूचना विभागमा नविकरण अनलाइन सेवा तथा फाइभ जी सेवा समेत आज नै शुभारम्भ हुने भएको छ ।
त्यस्तै, यसअघि डेटा भर्सनमा सुरुवात गरिएको नागरिक एपको पनि आज औपचारिक रुपमा सुरुवात गरिने मन्त्री गुरुङले जानकारी दिए।
आजदेखि फाइभ जीको परीक्षण सुरुवात भएको छ । तत्कालका लागि नेपाल टेलिकमबाट फाइभ जीको परीक्षण सुरुवात गरिने गुरुङले बताएका छन् । उनका अनुसार नेपाल टेलिकममार्फत फोरजी सेवा मुलुकको ७७ वटा जिल्लामा विस्तार भएको तर केही जिल्लामा प्राविधिक समस्या रहेको बताए।
त्यस्तै, नेपाल टेलिकमको डिजिटल पेमेन्ट ‘नमस्ते पे’को पनि परीक्षण शुरुवात गरिने छ । उनले भने,‘प्राविधिक कारण त्यसको सुरुवात गर्न सकिएन । यद्यपि आजदेखि परीक्षण भने सुरु हुन्छ।’
आजबाटै पत्रकारहरुले सूचना तथा प्रसारण विभागको पास नवीकरण गर्नका लागि कार्यालय धाउनु पर्ने बाध्यताको पनि अन्त्य हुने भएको छ । पासको पनि अनलाइलनबाट नै नवीकरण गर्न सकिने भएको छ।
मन्त्री गुरुङले अनलाइनबाटै अब सवारी साधनवापतको कर बुझाउन सकिने गरी सेवा सुरुवात गरिने पनि बताए । तर यो सेवाको लागि कानून आवश्यक रहेको र कानून पारित भएसँगै त्यसको पनि सुरुवात गरिने जानकारी दिए ।
अब नेपालमा सबै सेवा कागजरहित बनाउने अभियान स्वरुप सरकारले डिजिटल नेपाल अभियान अगाडि बढाएको छ।





























प्रतिक्रिया