हवाई उडानमार्फत् नेपाल हुँदै तेस्रो मुलुक हिँडेका भारतीय नागरिक राजधानीका होटलमा बस्दै आएको पाइएको छ। कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढेपछि भारतमा अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनीहरु बाहिरी मुलुक जानका लागि यहाँ आएका हुन्।
वैदेशिक रोजगारीका लागि खाडी मुलुक तथा अध्ययनका लागि अमेरिका–युरोप जाने भारतीय नागरिकले पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाउँदै आएका थिए। तर, नेपाल सरकारले वैशाख १५ गतेयता भने भारतीय नागरिकले नेपाललाई ट्रन्जिट बनाएर विदेश जान रोक लगाइसकेको छ।
अहिले राजधानीका ठमेल, सुन्धारा, सोह्रखुट्टे, नयाँ बसपार्कलगायत स्थानका होटलमा विदेश जान हिँडेका भारतीय नागरिक बस्दै आएका होटल व्यवसायीले बताएका छन्।
आफ्नो देशबाट तेस्रो मुलुकमा जान नपाएपछि नेपालबाट विदेश जानका लागि भारतीय नागरिक काठमाडौंका विभिन्न होटलमा बस्दै आएका ठमेलस्थित पिस माउन्टेन होटलका सञ्चालक सुर्दशन सिलवालले जानकारी दिए।
उनका अनुसार केही दिनअघिसम्म १० हजारभन्दा बढी भारतीय नागरिक विभिन्न होटलमा रहेका थिए। तिनीहरुमध्ये धेरैजसो विदेश गइसकेका छन्। ‘मेरो होटलमा बसेका केही विदेश गए भने थोरै मात्र बाँकी छन्,’ उनी भन्छन्। ठमेलका होटलमा मात्रै एक हजारभन्दा बढी भारतीय नागरिक अझै बस्दै आएका उनको अनुमान छ। अन्य स्थानका होटलमा बस्दै आएका भारतीय जोड्दा यो संख्या अझै बढ्ने देखिन्छ।
कोरोना नेगेटिभ रिपोर्ट लिएर नेपाल आएका भारतीय नागरिक होटलमा १० दिन क्वारेन्टिन बसेपछि विदेश जाने गरेका थिए। कोरोना महामारीका कारण भारतले आफ्ना नागरिकलाई खाडीलगायत विभिन्न मुलुक जान रोक लगाएको छ।
भारतबाट खाडीलगायत विभिन्न मुलुक जान नपाएपछि नेपालमा रहेको भारतीय दूतावासबाट श्रम स्वीकृति लिएर उनीहरु विदेश जाने गरेको खुलेको छ।
केही दिनअघिसम्म हजारांैको संख्यामा लैनचौरस्थित भारतीय दूतावासमा श्रम गर्ने र पासपोर्ट बनाउने भारतीय नागरिकको भिड लाग्ने गरेको थियो। पछिल्लो समय भारतमा कोरोना भाइरसको दोस्रो लहरले विकराल रुप लिएको छ। त्यसको असर नेपालमा पनि पर्दै आएको छ।
नेपालमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै रोकथामका लागि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकालगायत ३० भन्दा बढी जिल्लामा सरकारले निषेधाज्ञा जारी गरेको छ।
निषेधाज्ञाका कारण उपत्यकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहेका छन्। आज रातिदेखि आन्तरिक हवाई उडानसमेत बन्द गर्ने सरकारको तयारी छ।
भारतमा कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर गएको अवस्थामा भारतीय नागरिक नेपाल हुँदै विदेश जाँदा यहाँ कोरोना संक्रमणको जोखिम बढ्ने देखिएको छ। तर, होटल व्यवसायी भने विदेश जानका लागि आएका हुनाले उनीहरुले स्वास्थ्य प्रोटोकल पालना गर्ने गरेको बताउछँन्। तर, व्यवसायीले भनेजस्तो स्वास्थ्य प्रोटोकल विमानस्थलमा पालना भएको पाइँदैन। उडान खुलेपछि विमानस्थलमा भिडभाड हुने गरेको छ।
नेपाल सरकारले २२ नाका कडाइ तथा बन्द गर्ने बताए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। केही दिनअघिसम्म कोरोना महामारी छल्नकै लागि भारतीय नागरिक सिमावर्ती नाकाबाट नेपाल भित्रिएका समाचार आइरहेका छन्। यसले गर्दा पनि नेपालमा कोरोना संक्रमणको उच्च जोखिम छ।
यता, अध्यागमन विभागले भने कोभिड–१९ महामारी जोखिम न्यूनीकरणका लागि विदेशबाट स्वदेश आवागमनलाई सतर्कतासाथ नियमन गरिएको जनाएको छ ।
विभागका प्रवक्ता जनकनाथ ढकालले कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोकेको बताए।
उनका अनुसार गत वैशाख १५ गते बेलुकासम्म आएका विदेशी यात्रुलाई जान दिइए पनि त्यसपछि कुनै पनि देशका नागरिकलाई जान दिइएको छैन।
‘वैशाख १५ गतेअघि आएका जान पाएका छन्। त्यसभन्दा पछिकाले जान पाउने छैनन्,’ उनी भन्छन्। सरकारले नेपालसँग सिमाना जोडिएका छिमेकी मुलुकका नागरिकबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट नेपाल प्रवेश गर्न रोकेको छ।
विमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेकका विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान अनुमति दिइने छैन । वैशाख १५ अघि स्वदेश प्रवेश गरिसकेका विदेशी नागरिकले हवाई वा स्थलमार्गबाट प्रस्थान गर्न चाहेमा अनुमति दिइने विभागले यसअघि नै जनाइसकेको छ।
फाइल फाेटाे





























प्रतिक्रिया