श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि सम्बन्धी सूचना राजपत्रमा प्रकाशित

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि सम्बन्धी सूचना राजपत्रमा प्रकाशित

केन्द्रबिन्दु
0
Shares

निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक १५ हजार पुर्याइने घोषणा गरेका थिए।
 
प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रमा प्रकाशन गरेको हो। वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुनेछ। सो अनुसार नौ हजार ३८५ आधारभूत पारिश्रमिक र पाँच हजार ५१६ महँगी भत्ता गरी मासिक १५ हजार हुनेछ। यसअघि श्रमिकको आधारभूत पारिश्रमिक १३ हजार ४५० थियो।
 
मन्त्रालयले दैनिक आधारभूत पारिश्रमिक ३६१ र दैनिक महँगी भत्ता २१६ गरी दैनिक ५७७ तथा प्रतिघण्टा आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ रुपैयाँ गरी प्रतिघण्टा रु ७७ तोकेको छ। यो चिया बगानमा काम गर्ने श्रमिकबाहेकको हो।
 
उक्त पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदानलगायत सुविधा रोजगारदाताले प्रदान गर्नुपर्ने मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए।
 
सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने पनि मन्त्रालयले स्पष्ट पारेको छ। सरकारले एकपक्षीय रुपमा न्यूनतम पारिश्रमिक तोकेको जनाउँदै श्रमिक र रोजगारदाता दुवैले असन्तुष्टि जनाएका छन्। श्रम ऐन, २०७४ मा प्रत्येक दुई दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने प्रावधान छ।

Logo