पत्ता लाग्यो कोरोना संक्रमण फैलिने ‘सिन्ड्रोम’ !

पत्ता लाग्यो कोरोना संक्रमण फैलिने ‘सिन्ड्रोम’ !

केन्द्रबिन्दु
0
Shares

कोरोना रिटर्न्स –२ को उत्पातले मानवता नै संत्रस्त भई भय र त्रासले ‘किंकुर्वेत’को दुसाध्य, दुर्लघ्य एवं अन्यमनस्क  भावभंगिमामा झन्डै–झन्डै तिरोहित हुन गइरहेका बेला आशाको नवकिरण प्रस्फुटित भएको छ।

कोरोना संक्रमित हुने खतरनाक सिन्ड्रोम पत्ता लागेको छ। यसै सिन्ड्रोमका कारण कोरोना संक्रमण तीव्रताका साथ प्रसारित भइरहेको छ।

हिजो मात्रै विश्व स्वास्थ्य संगठनले ’भर्चुअल’ अन्तर्राष्ट्रिय प्रेस कन्फ्रेन्समा यसबारे खुलासा गरेको हो।
विश्व स्वास्थ्य संगठनको तत्वाधानमा विश्वका २१ देशका नामुद स्वास्थ्य संस्थाका ५१ जना अनुसन्धानकर्ताको टोलीले आफ्नो अथक प्रयासका फलस्वरुप मानिसमा हुने यो सिन्ड्रोम पत्ता लगाएका छन्।  यो  सिन्ड्रोम कोरोना संक्रमित हुने प्रमुख कारण भएको रहस्य उद्घाटित भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार ९५ प्रतिशत कोरोना संक्रमण फैलिनुमा यो सिन्ड्रोम नै प्रमुख कारण रहेको छ।

‘जीबीएन’ नाम दिइएको यस सिन्ड्रोमलाई अनुवांशिक मानिएको छ। अनुसन्धानमा समावेश गरिएका ३ हजार सहभागीमध्ये ९५ प्रतिशतमा यो सिन्ड्रोम रहेको पाइयो।

तीन हजार सहभागीमध्ये झन्डै ५० प्रतिशतमा यो ‘जीबीएन’ सिन्ड्रोम अनुवांशिक रूपमा सर्दै आएको भेटियो। त्यसैगरी, २० प्रतिशतमा विभिन्न ड्रगको कुलतका कारण यो सिन्ड्रोम विकसित भएको पाइयो। २५ प्रतिशतमा भने यो सिन्ड्रोम कुसंगत, कुलत, यारी, दोस्ती, अनैतिक सम्बन्धले विकसित हुने गरेको पाइयो। 

 अनुसन्धान टिमका प्रमुख ‘लिडर’  प्रोफेसर डाक्टर अग्निधर्मा सरस्वतीका अनुसार यो सिन्ड्रोम भयानक र अत्यन्त भयानक छ।  यस सिन्ड्रोमका कारण नै कोरोना रिटर्न्स २ उच्च गतिले प्रसारित एवं विस्तारित भइरहेको छ। यस सिन्ड्रोमको रोकथाम नगरे कोरोना संक्रमणलाई रोक्न नसकिने चेतावनी पनि दिए अग्निधर्मा सरस्वतीले।

अनुसन्धान दलले बुझाएको ‘निष्पत्तिठेली’माथि विश्व स्वास्थ्य संगठनका पदाधिकारीले गम्भीरतापूर्वक मनन गरिरहेको संगठनका महासचिवले बताएका छन्। केही दिनभित्र नै विश्व स्वास्थ्य संगठनले विश्वका अन्य नियामक संघसंस्थाको परामर्श एवं सुझाव संकलन गरी मानिसमा रहेको यस सिन्ड्रोमलाई बधिया गर्ने उपायका रूपमा नयाँ गाइडलाइन जारी गर्न लागिरहेको घोषणा गरेको छ।

अनुसन्धान दलमा रहेका नेपाली प्रतिनिधि सर्वविज्ञ, ब्रह्माण्डविद् डाक्टर षड्यन्त्रप्रसाद ओलीका अनुसार भारतीय उपमहाद्वीपका देशहरुमा यो सिन्ड्रोमको दर बाँकी देशहरुभन्दा झनै उच्च रहेको छ। उनले यस ‘जीबीएन’ सिन्ड्रोमका कारण भारत तथा नेपालमा कोरोना संक्रमणको जोखिम चिउँडोभन्दा माथि तल्लो ओठको तल्लो मांसल भागको अन्तिम सिमानासम्म पुगेको भन्दै केही दिनमै स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने  चेतावनी दिएका छन्।  

प्रेस कन्फ्रेन्समा  विश्व स्वास्थ्य संगठनका महासचिवले  कोरोना संक्रमण प्रसारको प्रमुख कारण ‘जीबीएन’ सिन्ड्रोम पत्ता लागेकोले अब शीघ्र नै यस सिन्ड्रोमलाई विस्थपित गरेर संक्रमणमाथि नियन्त्रण स्थापित हुने आशा प्रकट गरेका छन्।  यसका लागि अति शीघ्र नै संस्थाले नयाँ गाइडलाइन ल्याउने पहल भइरहेको बताए पनि ‘जीबीएन’ सिन्ड्रोमबारे ‘डिटेल’मा केही जानकारी दिइएको छैन।

अनुसन्धानमा संलग्न नेपाली वैज्ञानिक षडयन्त्रप्रसाद ओलीले यस पंक्तिकारलाई  गोप्य र व्यक्तिगत रूपमा दिएको जानकारी अनुसार ‘जीबीएन’ सिन्ड्रोम प्रायः सबै नेपालीमा रहेको पाइएको छ। र, नेपालमा संक्रमण दर उच्च हुँदै गएकोमा प्रमुख कारण यो सिन्ड्रोम नै रहेको छ। उनले पंक्तिकारसँग ठट्टा गर्दै ‘तिमी वैज्ञानिक शब्दावली बुझ्दैनाैं,  यसका लागि १४ वर्ष जेल बस्नु पर्छ’ भन्दै टुक्के शैलीमा ‘जीबीएन’ सिन्ड्रोमबारे खाँटी नेपालीमा यसरी बुझाएका छन्।

‘जी’लाई तिमी ‘घरमा’ भन्ने बुझ।
‘बी’लाई तिमी ‘बस्न’ भनी बुझ।
‘एन’लाई तिमी ‘नसक्ने’ भनी बुझ।

अब शायद तपाईंहरुले पनि ‘जीबीएन’ सिन्ड्रोमको वैज्ञानिक अवधारणा÷ परिभाषा जेजस्तो भए पनि षडयन्त्रप्रसादको आँट एवं उदारता र  यस निठल्ला चिन्तकको हासपरिहासजन्य प्रस्तुतिका माध्यमले बुझ्नुभयो होला।

एकपटक फेरि आज्ञाकारी, अनुशासित, जिज्ञासु र विषयप्रति आ–आफ्नो मन–हृदयमा विशेष अनुराग एवं पवित्रभाव एकत्र गरी यस परम रहस्यलाई आत्मसात गर्नुस्। कोरोना संक्रमण ‘घरमा बस्न नसक्ने’ सिन्ड्रोमका कारण महामारी बनी तपाईंलाई पछ्याउदै आफ्नो ‘होस्ट’ बनाउन सक्रिय रहेको छ। अब मैले यसबाट जोगिन तपाईंहरुलाई उपाय भन्ने ‘कन्टीन्युटी’ गरेँ भने तपाईंहरुको विद्धता–विज्ञता र प्रतिभाको अपमान गरेसरह हुन्छ।

मेरो सोझैका अन्नदाता विभिन्न प्रकाशक र सम्पादक महोदय भए पनि म यो किञ्चित पनि विस्मरण गर्न सक्दिनँ। वास्तवमा मेरो अन्नदाता तपाईं पाठकहरु नै हो। तपाईंहरुले नपढी दिए मेरा निठल्ला चिन्तन  प्रकाशित हुने सम्भावनामा तुषारापात हुन्छ। तसर्थ, तपाईंहरुलाई पूर्ण सम्मान गर्दै महामारीको प्रकोपबाट जोगाउनु मेरो परम कर्तव्य मात्रै होइन, महती आवश्यकता नै हो।  

आफूमा भएको ‘जीबीएन’ सिन्ड्रोमलाई अविलम्ब पहिचान गरी  यसलाई पूर्णरूपमा समाधान गर्नुस्।

Logo