सरकारले कोभिड उपचारका लागि तोकेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कोभिड संक्रमितहरुको चाप बढ्दै गएको छ।
कोभिड १९ संक्रमणको दोश्रो लहर देखिए लगत्तै संक्रमित हुनेको संख्या पनि बढ्दै जाँदा अस्पतालमा संक्रमितहरुको चाप थपिएको हो । अस्पताल प्रशासनले पछिल्ला केही दिन यता अस्पतालमा संक्रमितको चाप बढ्दै गएको र विहीबार अन्य दिनको तुलनामा बढी भएको जनाएको छ।
विशेष गरेर काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा संक्रमितको संख्या बढी हुनु र कोभिडको पछिल्लो भेरियन्टको संक्रमणको लक्षण अलि जटिल किसिमको देखिने गरेकाले पनि पछिल्ला दिनमा अस्पतालमा भीड बढ्न थालेको हो। यससँगै सरकारले कोभिडको उपचारका लागि स्वीकृत दिएका निजी अस्पतालले चर्को शुल्क लिन थालेपछि सर्वसाधारण संक्रमितको चाप सरकारी अस्पतालमा बढेको हो।
विशेष गरेर निजी अस्पतालले प्रतिदिन प्रति बेड ५ हजार देखि ५० हजारसम्म शुल्क तोकेपछि सर्वसाधरण संक्रमितको भीड निजीमा बढ्न थालेको हो।
निजी अस्पतालको शुल्क र उपचारका बारेमा अनुगमन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन समिति गठन भएको भएपनि सो समिति सक्रिय हुन नसक्दा निजी अस्पतालले संक्रमितको उपचारमा मनलाग्दी शुल्क लिंदै आएका छन् । निजी अस्पतालहरुको मनोमानी शुल्क लिने प्रवृत्तिका कारण पनि शिक्षण अस्पतालको अतिरिक्त अन्य सरकारी अस्पतालमा संक्रमितहरुको चाप बढ्दै गएको छ।
यता, बुधबार मात्रै स्वास्थ्य मन्त्रालयले निजी अस्पतालले मनपरी शुल्क लिएको पाइए कारबाही गर्ने चेतावनी दिए पनि त्यस सम्बन्धमा निजी अस्पतालहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। यस अघि अर्थात् कोरोनाको पहिलो लहरका समयमा पनि निजी अस्पतालले मनपरी शुल्क असुल गर्दा विरामी मारमा परेका थिए।





























प्रतिक्रिया