कांग्रेस संसदीय दलको बैठक आज बस्दै, के छ कार्यसूची ?

कांग्रेस संसदीय दलको बैठक आज बस्दै, के छ कार्यसूची ?

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ।

सङ्घीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूची रहेको संसदीय दलको कार्यालयले जनाएको छ। प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन्।

कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मङ्गलबार बसेको बैठकले प्रधानमन्त्री ओलीको विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो। संसदीय दलको बैठकमा पार्टीको सो निर्णयका सम्बन्धमा छलफल हुने र सभापति शेरबहादुर देउवाले पछिल्ला विभिन्न राजनीतिक दलका नेतासँग भएका भेटवार्ता बारेमा समेत जानकारी गराउने बताइएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनको लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।
 

Logo