सहरी विकास मन्त्री प्रभु शाहले ललितपुरको गोदावरीमा निर्माणाधिन नेपालकै सबै भन्दा ठूलो सम्मेलन हल “सिटीहल”को निरीक्षण गरेका छन् ।
एकसाता पछि प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी गरिएको सो सिटीहलको शुक्रबार मन्त्री शाहले निरीक्षण गरेका हुन् । मन्त्री शाह मन्त्रालय र विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका कर्मचारीसहित सिटीहलको निरीक्षणमा गएका हुन् । निरीक्षणको क्रममा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अधिकारीहरुले भवन निर्माणको प्रगतिबारे मन्त्रीलाई ब्रिफिङ गरेका थिए ।
०७६ कात्तिक २० गते निर्माण सम्झौता भएको सो भवन निर्माण सम्पन्नका लागि म्याद थपसहित ०७७ चैत मसान्तसम्मको समय दिइएको थियो । गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित ४३ रोपनी १५ आना क्षेत्रफल जग्गामा बनाइएको सो सिटी भवनको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना चर्चेको छ । ३ रोपनी क्षेत्रफलमा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली र १३ रोपनीमा पार्किङ्ग र अन्य कार्यका लागि छुट्याइएको छ । ध्वनी अवशोषित, भूकम्प प्रतिरोधी सो सिटी हलमा कम्तिमा पनि ३ हजार जना सहभागी भएर बैठक गर्न सक्नेछन् । भवनभित्र २ वटा भिभिआईपी कक्ष बनाईएको छ। आयोजना निरीक्षणपछि शहरी विकास मन्त्रालयका सचिव ई. रमेशप्रसाद सिंहले आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएकाले यही बैशाख ३१ गते प्रधानमन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
उदाउँदो सूर्यको आकृतिमा बनाईएकाले यसलाई गोदावरी सनसाईज नाम दिइएको पनि उनले जानकारी दिए । केसी समानान्तर जेभी काठमाडौंले निर्माण ठेक्का लिएको यो आयोजनाको निर्माण सम्झौता रकम ६५ करोड ७४ लाख ८७ हजार २ सय ९१ रुपैयाँ र भेरिएसनसहित ८१ करोड, ६ लाख ४ सय ३ रुपैया रहेको छ । आयोजनाभित्र हुने आन्तरिक सडक निर्माण, बगैंचा तथा हरियालीको पूर्वाधार, कुर्सी, हलको साजसज्जा लगायतका कामहरु बाँकी नै छन् । सिटी हल अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ दशमलब ८ किलोमिटर र चक्रपथबाट ९ दशमलब ५ किलोमिटर दुरीमा रहेको छ।





























प्रतिक्रिया