पछिल्लो समय नेकपा एमालेभित्रको राजनीतिक गतिविधिमा एक चर्चित पात्र हुन्, मोती दुगड।
प्रधानमन्त्री कार्यालयमा उद्योगी व्यवसायीको भेला गराएर उनीहरुलाई एमाले प्रवेश गराएपछि उनको चर्चा अझै चुलियो। पछि एमाले पार्टी कार्यालय राख्न घर मिलाउने पात्रका रुपमा पनि दुगडकै नाम अगाडि आयो।
एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच संवादहीनताको अवस्थामा मेरियट होटलमा वार्ता गराउन उनकै भूमिका रहेको चर्चा चलेको थियो।
दुगड १५ वर्षदेखि नेपाली राजनीतिमा सक्रिय रहेका छन्। उनी राजनीतिमा सक्रियतासाथ लाग्नु आफ्नो ‘प्यासन’ रहेको सुनाउँछन्। ‘सानैदेखि राजनीतिमा लाग्ने मेरो सोख थियो। आफ्नो परिवारबाट यसअघि कोही पनि राजनीतिमा लाग्नुभएको छैन,’ उनी भन्छन्।
राजनीतिमा लागेर पावर, पैसा र नाम कमाउने आफ्नो उद्देश्य नरहेको उनको भनाइ छ। ‘मलाई पैसा र स्रोत साधनको कमी छैन, मसँग पर्याप्त उद्योगधन्दा छन्। तथापि, देश र जनताका लागि केही गर्न सक्छु कि भन्ने आसले राजनीतिमा लागेको हुँ,’ उनले थपे।
राजनीतिमा आएपछि उनी पहिलोपटक २०६४ सालमा नेपाल सद्भावना (आनन्दीदेवी) बाट समानुपातिक सांसद भए। त्यसपछि सद्भावना पार्टीमा रहँदै पार्टीभित्रकै सांसदहरुको सल्लाहमा उनले आफ्नो अध्यक्षतामा नवनेपाल निर्माण पार्टी खोले।
२०७० सालको निवार्चनमा उनको पार्टी खरायो चिन्ह लिएर चुनावमा उत्रियो। तर, निर्वाचनमा पार्टीले पराजय भोग्यो। त्यसपछि उनको पार्टी एमालेमा विलय भयो।
यद्यपि, नयाँ पार्टी खोलेपछि आफ्नो राजनीति सक्रियता बढेको र यसले नयाँ उचाइ दिएको उनको दाबी छ। एउटा उद्योगी–व्यवसायी, त्यसमा पनि मारवाडी समुदायबाट पार्टीको अध्यक्ष भएर चुनाव लड्नु आफैंमा सफलता रहेको उनको ठम्याइ छ।
‘चुनाव कसले हार्दैन र!,’ अमेरिकामा डानोल्ड ट्रमले हारे, भारतमा इन्दिरा गान्धीले चुनाव हारिन्, नेपालका शीर्ष नेताले पनि चुनाव हारेका छन्। राजनीतिमा चुनावी हारजीतलाई स्वाभाविक रुपमा लिनुपर्छ,’उनी भन्छन्।
आफ्नो अनुभव र कार्यक्षमताले अहिलेको पदीय दायित्व सम्हालेको उनको धारणा छ। आफू कसैको आड–भरोसाले नभई आफ्नो क्षमता र अनुभवले मन्त्री भएको उनी बताउँछन्। उनी अहिले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार छन्।
दुगडले पैसाको भरमा राजनीतिक लाभ लिएको भन्ने टिप्पणी पनि सुनिन्छ। तर, उनी बजारमा चल्ने यस्ता हल्लाको पछाडि लाग्ने आफ्नो बानी नभएको बताउँछन्। आफूले निरन्तर देश तथा पार्टीका लागि काम गरेको र यसरी काम गर्दा पनि आलोचना हुने गरेको उनको भनाइ छ। ‘आजसम्म जे–जे गरे पनि सबै पार्टीका लागि गरेको र त्यो कुनै चर्चा वा टिप्पणीको विषय होइन,’ उनी भन्छन्।
विराटनगरका उद्योगी दुगड २०७६ साल मंसिरमा ओली सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भएका थिए। त्यसको १३ महिनापछि अर्थात् गत पुस ५ मा संसद् विघटनपछि मन्त्रिमण्डल पुनर्गठन हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले दुगडलाई राज्यमन्त्रीबाट हटाए।
‘चुनाव कसले हार्दैन र!,’ अमेरिकामा डानोल्ड ट्रमले हारे, भारतमा इन्दिरा गान्धीले चुनाव हारिन्, नेपालका शीर्ष नेताले पनि चुनाव हारेका छन्। राजनीतिमा चुनावी हारजीतलाई स्वाभाविक रुपमा लिनुपर्छ,’उनी भन्छन्।
राज्यमन्त्रीबाट हटाएका दुगडलाई नै प्रधानमन्त्री ओलीले मन्त्री सरहको सुविधासहित आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरे। २०७४ सालको निर्वाचनमा दुगड ओलीकै जोडबलले एमाले समानुपातिक तर्फबाट सांसदका लागि पहिलो नम्बरमा परेर सांसद भएका थिए।
उद्योगी व्यवसायी दुगड सांसद, राज्य मन्त्री हुँदै राज्यमन्त्रीबाट हटेको केही समयमै विज्ञहरु राखिने प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार बनेपछि आश्चर्यचकित बनेका थिए। यसरी दुगडले पटक–पटक लाभका पद पाउनु तथा राजनीतिक यात्रा बढ्नुमा ओलीसँगको निकटताले काम गरेको छ।
उद्योग र राजनीति सँगसँगै
दुगडका बुवा हरि सिंहले विराटनगरमा जुट व्यवसाय सुरु गरेका थिए। त्यस बेला देखि नै उनी व्यवसायमा लागेका हुन्। ‘त्यसबेला देखि नै उद्योग र राजनीतिलाई सँगैसँगै अघि बढाउने उद्देश्य थियो,’ उनी सम्झिन्छन्।
उनी मोरङ व्यापार संघ हुँदै उद्योग सगठन, मोरङको उपाध्यक्ष भएका थिए।उनी विभिन्न उद्योगसँगै होटल व्यवसाय र व्यापारिक भवनमा पनि केन्द्रित छन्। उनको सेन्चुरी मसला, दुगड स्पाइसेज र होटल ह्यारिसन चालू छन्।
त्यस्तै, विराटनगरमा व्यापारिक भवन भने निमार्णकै क्रममा छ। उनले २०७१ सालमा ‘द सेन्चुरी मल’ तथा होटल सुरु गरेका हुन्। दुगड उद्योग संगठन, मोरङमा २०६४÷६५ मा वरिष्ठ उपाध्यक्ष भएपछि राजनीतिमा लागेका थिए।
राजनीतिमा लागेको केही समयपछि २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाल सद्भावना (आनन्दीदेवी) को पार्टीबाट उनी समानुपातिक सांसद भएका थिए।
पछि पार्टीमा सरिता गिरीले आफूलाई धम्क्याउने, दबाब दिने र पैसा माग्ने गरेको भन्दै २०७० सालमा उनी आफैंले नवनेपाल निर्माण पार्टी खोलेका थिए। उनी अध्यक्ष भएर खोलिएको पार्टीले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा खरायो चिन्ह लिएर मैदानमा उत्रिए पनि एक सिट पनि जित्न सकेन। उनले २०७२ सालमा नवनेपाल निर्माण पार्टीलाई एमालेमा विलय गराएका थिए।
दुगड अहिले राजनीति र व्यवसाय दुवैमा सफल देखिएका छन्। उद्योगी व्यवसायी राजनीतिमा लाग्दा उद्योग धरासायी हुने भनिए पनि आफू दुवैमा सफल भएको उनको दाबी छ। राजनीति र व्यवसायलाई उत्तिकै महत्व दिने गरेको उनको अनुभव छ।
उद्योगीले राजनीति गर्नु हँुदैन विचारसँग आफू सहमत हुन नसक्ने उनको धारणा छ। ‘मुलुकलाई समृद्ध बनाउने हो भने उद्योगी पनि राजनीतिमा आउनुपर्छ,’ उनी भन्छन्।
व्यवसायी तथा जनताका समस्या समाधानका लागि आफूले सकेसम्म पछि नहट्ने उनको धारणा छ। उनी आफूलाई आएका सबै फोन आफैं उठाउँछन्। भेट्न चाहने कसैलाई पनि नाइँ भन्दैनन्।
आफूले सबैका जायज काम गरिदिएको वा त्यसका लागि समन्वयकारी भूमिका खेलिदिएको उनको दाबी छ। उनी आफू राज्यमन्त्री हुदाँ नेपालका पहिलो दर्जाका मानिने उद्योगीदेखि गाउँघरका साना व्यवसायीसम्मको कुरा सुनेर उनीहरूलाई चित्त बुझाएको जिकिर गर्छन्।
उद्योग निरन्तर सञ्चालन
दुगडका उद्योग निरन्तर सञ्चालनमा छन्। कोरोना महामारीका बेला पनि आफ्नो व्यापार राम्रो भएको उनको भनाइ छ।
व्यवस्थापन राम्रो भएकाले आफूले उद्योगमा सफलता हाँसिल गरेको उनको भनाइ छ। उनका श्रीमती, छोरा र छोरीसमेत सबैले आफ्नै उद्योगमा काम गर्छन्। ‘त्यही भएर पनि व्यवसाय राम्रो छ,’ उनी भन्छन्।
धेरै क्षेत्रमा उनको लगानी छ। एसिया केमिकल एन्ड प्याकेजिङ उद्योगले कच्चा र तयारी पदार्थ दुवै प्याकिङ सामग्री उत्पादन गर्छ। दुगड स्पाइसेज एन्ड फुड प्रोडक्ट्सबाट धेरै वस्तु उत्पादन हुन्छन्।
आलु चिप्स, फुरन दाना, पोटेटो फिंगर, कुरकुरे, कुरमुरे, चिज बल्स, गपागपलगायत स्न्याक्सको उत्पादन दुगड स्पाइसेज एन्ड फुड प्रोडक्ट्सले गर्छ। त्यस्तै, सेन्चुरी ब्रान्डका ५० खाले मसला उत्पादन हुन्छ।
त्यस्तै,हस्पिटालिटी क्षेत्रमा पनि दगडको लगानी छ। विराटनगरमा चारतारे होटल ह्यारिसन सञ्चालित छ। अर्को पाँचतारे होटल दुई सय करोडभन्दा बढीको लगानीमा निर्माणाधीन छ।
ओली र दुगड सम्बन्ध
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको लामो समयदेखि निकट सम्बन्ध छ। विगतमा ओली विराटनगर जाँदा दुगडसँगको भेटघाट प्राथमिकतामा पर्ने गथ्र्यो। नेताहरुका अनुसार ओली विराटनगरमा दुगडकै होटलमा बस्ने गर्थे।
दुगड ओलीका प्रिय पात्रको रुपमा रहँदै आएका छन्। ओलीकै जोडबलले उनी सांसददेखि मन्त्री र विशेष आर्थिक सल्लाहकारसमेत भएका हुन्। तर, उनी ओलीको प्रियपात्र भएर मात्र सांसद र मन्त्री नभएको दाबी गर्छन्।
‘पार्टीभित्रको विवाद मिलाउन खुसीका साथ मन्त्री छाडेको हुँ, प्रधानमन्त्रीले योग्य देखेर नै मलाई आर्थिक सल्लाहकार बनाउनु भएको हो,’ उनी भन्छन्। अझै पनि पार्टीका शीर्ष नेताहरु मिलेर पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुको विकल्प नभएको उनको धारणा छ।































प्रतिक्रिया