प्रतिनिधिसभाको विशेष बैठक आज दिउँसो १ बजे बस्दैछ। संसद सचिवालयले आजको बैठकका सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ।
आइतबार सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक राखेका थिए। आजको संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् । आजै दोस्रो बैठक बस्ने र सो बैठकमा अविश्वास प्रस्तावमाथि मतदान हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन्। सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओलीले विश्वासको मत लिन लागेका हुन् ।
एमालेको नेपाल-खनाल समूहले ओली पक्षमा मतदान नगर्ने संकेत गरिसकेका छन्। उनीहरूले आज बिहान ९ बजेसम्म ओलीको निर्णय पर्खने र त्यसपछि सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्।
यता नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले पनि ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् भने जनता समाजवादी पार्टीले पनि मत नदिने संकेत गरेको छ।
२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एमालेको १२१ सिट छ। प्रधानमन्त्रीले विश्वासको मत लिन १३६ सिट चाहिन्छ। जो अहिलेको अवस्था हेर्दा पाउने सम्भावना निकै कम छ।





























प्रतिक्रिया