सत्तारुढ दल एमाले फुटको सङ्घारमा छ। कारण–आन्तरिक विवाद हो।
विवाद मत्थर भएको छैन। त्यसैले पार्टी जुट्ला कि फुट्ला? आजै (वैशाख २७) निर्क्याेल हुने भएको छ।
त्यसका लागि आज बिहान ९ बजेसम्म कुर्न पर्नेछ। किनभने एमालेका निलम्वित नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल ‘नेपाल–खनाल’ पक्षले आइतबार दिएको १३ घण्टे अल्टिमेटम त्यसबेला (९ बजे) सकिँदैछ।
तोकिएको उक्त समयमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे माग सम्बोधन गर्नुपर्ने भनिएको छ।
गरेको खण्डमा ओलीलाई ‘नेपाल–खनाल’ पक्षका ३३ जना सांसदले विश्वासको मत दिनेछन्। सरकार ढल्नबाट जोगिने छ। पार्टी एकता हुनेछ।
तर, ती मागहरू सम्बोधन नगरे ‘नेपाल–खनाल’का अनुसार ओलीलाई पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहेको भन्ने अर्थ लाग्नेछ।
मतलव, मागहरू सम्बोधन नभएको अवस्थामा प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने उनीहरूको तयारी छ।
नेपाल–खनालपक्षीय सांसद भवानी खापुङका अनुसार आइतबार नै राजीनामा दिने तयारी थियो।
तर, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र अर्का नेता विष्णु पौडेलले ‘राजीनामा ‘होल्ड’ गरौं, माग सम्बोधन गर्न अध्यक्ष कमरेडलाई भन्छौं’ भनेपछि आइतबार दिने भनिएको राजीनामाको समय बढेको सांसद खापुङले बताइन्।
यी हुन् नेपाल–खनाल पक्षको छ बुँदे माग
१) सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान, नियमावली, आचारसंहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात् जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने।
२) नवौं राष्ट्रिय महाधिवेशनको माग निर्देशन र पार्टीको विधानविपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्ने।
३) पार्टीलाई विधि, विधान र पद्धती अनुरुप सञ्चालन गर्ने।
४) पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद, विवादका कारण सिर्जित समस्याहरू तथा एकअर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरूको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने।
५) सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने।
६) उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने। यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने।
नेपाल–खनाल पक्षका यी मागहरू नयाँ होइनन्। चैत २ गते र वैशाखको ८ र ९ गते नेता नेपालले अध्यक्ष ओलीसँग भेटवार्तामा यी मागहरू राखिसकेका छन्।
यी मागहरूबाट नेपाल पछि हट्न तयार छैनन्। अध्यक्ष ओली पनि माग सम्बोधन गर्न तयार छैनन्।
यही कारण पार्टी एकता धरापमा परेको एमालेका दोस्रो तहका नेताहरूको विश्लेषण पनि छ।
अझ आइतबार बेलुकी अध्यक्ष ओलीले एउटा वक्तव्य जारी गरे। त्यहाँ नेपाल–खनाल पक्षलाई लक्षित गर्दै भनिएको छ, ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी÷गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्ने जस्ता हानिकारक प्रयास भएका छन्, कुनै पनि तहमा पार्टिका सरकारलाई ढालिछाड्ने र विरोधीहरूको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरू पनि आज देखा परेका छन्। यी प्रवृत्ति कुने पनि हिसाबले उपयुक्त होइनन् र यी हानिकारक छन्।’
वक्तव्यमा अध्यक्ष ओलीले ‘नेपाल–खनाल’ पक्षले राखेको कुनै पनि माग सम्बोधन गर्ने भनेका छैनन्। बरु घुमाउरो भाषामा कारबाहीको चेतावनी दिएका छन्।
र, पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पनि आइतबार नै ह्वीप जारी गरे।
कुनै पनि सांसदले ह्वीप उल्लङ्घन गरे दलको विधानअनुसार कारबाहीको चेतावनी उनले पनि दिएका छन्।
यसरी पार्टी अध्यक्ष र संसदीय दलको प्रमुख सचेतकबाट कारबाहीको चेतावनीपूर्ण भाषा रहेको वक्तव्य जारी हुँदा ओली निकट नेताहरू नेम्वाङ र पौडेल भने माग सम्बोधन गराउने भन्दै ‘नेपाल–खनाल’ पक्षलाई फकाइरहेका छन्।































प्रतिक्रिया