राजीनामाबारे निर्णय गर्न नेपाल–खनाल पक्षको बैठक बस्दै

राजीनामाबारे निर्णय गर्न नेपाल–खनाल पक्षको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

निर्धारित समयसीमाभित्र ६ बुँदे मागको सम्बोधन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट नभएपछि माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपक्षीय सांसदहरूको बैठक बस्ने भएको छ।

सिंहदरबारस्थित संसद् सचिवालयमा सोमबार बिहान साढे ९ बजेपछि बैठक बस्ने भएको सांसद भवानी खापुङले बताए।

बैठकमा राजीनामा दिने विषयमै छलफल हुने जानकारी आएको उनको भनाइ छ।

‘पार्टी अध्यक्ष कमरेडबाट माग सम्बोधन भएको भन्ने जानकारी छैन, त्यही भएर राजीनामाबारे के गर्ने भन्ने विषयमा छलफल हुन्छ बैठकमा’, सांसद खापुङले केन्द्रविन्दुसँग भने, ‘हामी राजीनामाको निर्णय गरेर अघि बढ्ने सोचमा छौं।’

नेता माधवकुमार नेपालले आइतबार राति वक्तव्यमार्फत ६ बुँदे माग सम्बोधनका लागि अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका थिए। ती मागहरू गत चैत, वैशाखको ८ र ९ गते भएको भेटवार्तामा पनि नेता नेपालले अध्यक्ष ओलीसँग राखेका थिए।

ती मागहरूको सम्बोधन भए पार्टी एकता जोगिने पनि उनको भनाइ छ। तर, आइतबार साँझ पार्टी अध्यक्ष ओलीले भने माग सम्बोधन नगर्ने आशयको वक्तव्य जारी गरेका थिए। जबकि ओलीले सोमबार दिउँसो १ बजे संसदमा विश्वासको मत लिँदैछन्।

विश्वासको मत लिने पूर्वसन्ध्यासम्म नेता नेपालले राखेका मागहरू सम्बोधन भइनसक्दा ओलीले आफ्नै पार्टीका नेपालपक्षीय सांसदहरूबाट मत पाउनेमा शंका उत्पन्न भएको छ।

फाइल फाेटाे

Logo