आफ्नै दलको विश्वास भएन ओलीलाई, ढल्यो बहुमतको सरकार (भिडियोसहित)

आफ्नै दलको विश्वास भएन ओलीलाई, ढल्यो बहुमतको सरकार (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन सोमवार बोलाइएको प्रतिनिधिसभाको बैठकमा भएको मतदानमा ओलीको विपक्षमा १२४ जना सांसद उभिएका थिए। प्रधानमन्त्रीले विश्वासको मत गुमाएसँगै ओली सरकार काम चलाउमा परिणत भएको छ भने, दलहरूमा नयाँ सरकार गठनको बहस पनि सुरु भएको छ। यता, आजै मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। 

यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजारमाथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ७ जना निको भएका छन् भने १३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

कोरोना संक्रमणको त्रासका बीच राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परिक्षा स्थगित गरेको छ। बोर्डले सरकारले पनि परीक्षाहरू स्थगित गर्न भनेको र पछिल्लो समय कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण परीक्षाहरू स्थगन गर्ने निर्णय गरेको जानकारी गराएको हो। 

कोरोना संक्रमण नियन्त्रणका लागि पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ६९ पुगेको छ। कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ५७ जिल्लामा पूर्ण र १२ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयको विवरणमा जनाइएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि २९ गतेसम्म लगाइएको निषेधाज्ञा २९ गते सकिंदैछ। उपत्यकामा पुनः थप १५ दिन निषेधाज्ञा लगाउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सिफारिस गरेको छ।

नेपालका कोरोनाको संक्रमण दर बढ्दै जाँदा अन्तर्राष्ट्रिय समुदायमा नेपाल रेडजोनमा परेको छ। यससँगै विभिन्न राष्ट्रहरूले नेपालबाट हुने यात्रा तथा उडानहरूमा प्रतिबन्ध लगाएका छन्। जसमा, बेलायत, संयुक्त अरब इमिरेट्स, बंगलादेशले जोखिमको कारण देखाउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेका हुन्।

Skip This
Skip This
Logo