काठमाडौं ।
नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सांस्कृतिक सभ्यता जोगाउँदै विकासको काम अघि बढाइने बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज कार्यभार सम्हाल्दै उनले यसअघि मन्त्रालयको जिम्मेवारी सम्हालेका वसन्तकुमार नेम्वाङले शुरु गरेको सकारात्मक कामलाई निरन्तरता दिँदै आफ्ना कार्यक्रम अघि ल्याइने जानकारी दिए।
मन्त्री श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसूदन अधिकारी लगायत मन्त्रालय र मन्त्रालय अन्तर्गतका विभाग र महाशाखा प्रमुख र कार्यरत कर्मचारीले स्वागत गरेका थिए । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर श्रेष्ठ, प्रदेशसभा सदस्य अजयक्रान्ति शाक्य, केशव पोखरेल लगायतको पनि कार्यक्रममा सहभागिता थियो ।
मन्त्रालयले आज मन्त्री श्रेष्ठको स्वागतसँगै निवर्तमान शहरी विकासमन्त्री नेम्वाङको बिदाइसमेत गरेको छ । मन्त्री नेम्वाङले मन्त्रालयको इतिहासमा अहिले राम्रो नेतृत्व आएको बताउँदै श्रेष्ठको कार्यकाल सफल र गौरवपूर्ण हुने विश्वास व्यक्त गरे ।
मन्त्रालयका सचिव अधिकारीले मन्त्री नेम्वाङले जिम्मेवारी सम्हालेपछि ‘जनता आवास कार्यक्रम’ ले गति लिएको, उनकै पहलमा चालु आवमा डेढ लाख घरका खरको छाना विस्थापन र आगामी तीन वर्षमा देशभरबाट विस्थापित गर्ने कार्ययोजना बनाइएको जानकारी दिँदै अब मन्त्री श्रेष्ठको नेतृत्वमा पहिले शुरु भएका कामले गति लिने र अरु थप कार्यक्रम अघि बढ्ने बताए । उनले भने, “गत वर्षदेखि गोदावरीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सैँबुमा मन्त्री निवास, मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय, सिंहदरबारमा संसद् भवन लगायत महत्वपूर्ण संरचना अघि बढिरहेका छन् ।”
सो मन्त्रालयमा एक वर्षबीच तीन मन्त्रीले जिम्मेवारी सम्हालिसकेका छन् । ०७५ जेठ १८ गते सङ्घीय समाजवादी फोरम पार्टीका तर्फबाट मोहम्मद इस्तियाक राईले मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । पार्टी सरकारबाट बाहिरिने निर्णयसँगै मन्त्री राईले पुस ८ गते प्रधानमन्त्री ओलीसमक्ष राजीनामा दिए।
गत पुस २५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई नै शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । मन्त्री बाँस्कोटाले गत फागुन ८ गते राजीनामा दिएपछि फागुन १२ गते भौतिक पूर्वाधारमन्त्री नेम्वाङले शहरी मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए । सो मन्त्रालयमा गत वर्ष मङ्सिर ५ गते राज्यमन्त्रीका रुपमा मानन्धरले जिम्मेवारी पाएका थिए ।रासस





























प्रतिक्रिया