उपत्यकाका ठूला अस्पतालले हात उठाए, सञ्चालक भन्छन्–अक्सिजन प्लान्ट जोड्न सक्दैनौं

उपत्यकाका ठूला अस्पतालले हात उठाए, सञ्चालक भन्छन्–अक्सिजन प्लान्ट जोड्न सक्दैनौं

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र रुपमा फैलिएसँगै मुलुकभर अक्सिजन हाहाकार भएको छ। अक्सिजन अभावकै कारण कतिले उपचार नै पाउन सकेका छैन् भने कतिले ज्यानसमेत गुमाइरहेका छन्।

अस्पतालमा अक्सिजन अभाव भएको भन्दै बिहीबार बेलुकासम्म उपत्यकाका एक दर्जन अस्पतालले संक्रमितको उपचार गर्न नसकिने बताएका छन्।

बुधबार मात्र काठमाडौंका ठूला अस्पतालले नै अक्सिजन अभावले नयाँ बिरामी भर्ना गर्न नसकिने भन्दै सार्वजनिक सूचना निकालेका छन्। धापासीस्थित ग्रान्डी अस्पतालले बुधबार थप विरामी भर्ना गर्न नसकिने तथा थप बिरामीको उपचार गर्न असमर्थ रहेको भनी सूचना जारी गरेको थियो। 

ग्रान्डीको सूचनामा भनिएको छ, ‘आवश्यकता अनुसार अक्सिजन प्राप्त भएमात्रै थप बिरामी भर्ना गरिने जानकारी गराउँछौ।’ त्यस्तै, गत आइतबार एकैपटक चारवटा निजी अस्पतालले संयुक्त विज्ञप्ति जारी गर्दै अक्सिजन आपूर्ति असहज भएको भन्दै कोरोनाका बिरामीको उपचारलाई निरन्तरता दिन नसकिने बताएका  छन्। 

काठमाडौंका मेडिकेयर अस्पताल, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु अस्पताल र हेल्पिङ ह्यान्ड्स र ललितपुरको मेडिसिटी अस्पतालले एक सातादेखि अक्सिजनको नियमित आपूर्ति नभए उपचार गर्न नसक्ने बताउँदै आएका छन्।

अस्पतालमा अक्सिजन अभाव भएसँगै सरकारले उद्योगलाई स्वास्थ्य मन्त्रालयको अनुमतिबिना निजी तथा सरकारी अस्पतालमा  अक्सिजन  नदिन निर्देशन दिएको छ। त्यस्तै, गत आइतबारदेखि सिसिएमसीले अस्पतालमा अक्सिजन व्यवस्थापन गर्ने जिम्मा पाएको छ। सिसिएमसीले अस्पतालमा दैनिक कोटा छुट्याएको छ। कोटा प्रणालीले अस्पतालमा झनै समस्या आएको अस्पतालले जनाएका छन्।

अस्पताललाई दैनिक ४ सय ५० देखि ५ सयसम्म अक्सिजन सिलिन्डर आवश्यक पर्छ।  तर सरकारले दैनिक एक सय मात्र सिलिन्डर दिने भएकाले संक्रमितको उपचार गर्न नपुग्ने अस्पतालले जनाएका छन्।

यस्तै, बिहीबार  अक्सिजन अभावको कारण देखाउँदै संक्रमितको उपचार गर्न नसकिने भन्दै करुणा अस्पताल, हिमाल अस्पताल, नेपाल मेडिकल कलेज, ओम अस्पताल र एभरेष्ट अस्पतालले जानकारी गराएका छन् ।

सरकारले अक्सिजन आपूर्ति गर्न नसकेकाले सेवा दिन नसकेको अस्पतालले जनाइसकेका छन्। स्वास्थ्य मन्त्रालयले पनि अक्सिजन अभाव रहेको स्वीकारेको छ। मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकामा दैनिक करिब १५ हजार अक्सिजन सिलिन्डर माग रहेकोमा अहिले करिब १० हजार सिलिन्डर मात्रै आपूर्ति गर्न सकिएको बताएका छन्। 

आपूर्ति कम भएकाले सबै अस्पतालमा त्यहीअनुरुप कोटा छुट्याइएको मन्त्रालयले जनाएको  छ।

अहिले अक्सिजन अभावका कारण अस्पतालहरुले संक्रमितको उपचार गर्न नसकिने बताएपछि मन्त्रालयले भने अब अस्पतालहरूलाई नै अक्सिजन प्लान्ट जडान गर्न लिनर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको बैठकले सय बेडमाथिका निजी र सामुदायिक अस्पतालले १५ दिनभित्र आफैं अक्सिजन प्लान्ट जोड्नुपर्ने निर्णय गरेकोे छ। अक्सिजन प्लान्ट जोड्ने क्रममा कुनै समस्या आइपरे त्यसमा मन्त्रालयले सहजीकरण गरिदिने सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अहिले मुलुकभरका सबैजसो अस्पताल संक्रमितले भरिएका छन्। भर्ना भएकामध्ये ९० प्रतिशत विरामीलाई अक्सिजन दिनुपरेको अस्पतालले जनाएका छन्। जसले गर्दा अस्पतालले अक्सिजनको व्यवस्थापन गर्न निकै सास्ती खेप्नुपरेको छ। अस्पतालले नै अक्सिजन व्यवस्थापन गर्न नसकेपछि अहिले मानिस आफैं अक्सिजन खोज्न विभिन्न उद्योग धाउने गरेका छन्।

 बिहीबार काठमाडौंको ट्रमा सेन्टरमा अक्सिजनको चरम अभाव भएको भन्दै सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले फेसबुकमा ‘रातभर थामियो, अब गाह्रो भो भन्दै अक्सिजन सहयोगको माग राख्दै स्टाटस राखेका थिए ।

अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले रातभरि खटिएर एम्बुलेन्समार्फत् अक्सिजन ओसार्दा पनि बिहान ७ बजेसम्मका लागि मात्र अक्सिजन व्यवस्था गर्न सकियो अब तत्काल अक्सिजन व्यवस्था गर्न नसकिएमा भगवान भरोसा भनी उल्लेख गरेका छन्।

देशभरका कोभिड अस्पताललाई हेर्ने गरी सरकारले ट्रमा सेन्टर र बीर अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाउने निणर्य गरे पनि उक्त अस्पतालमा अक्सिजन अभावले नेपालको स्वास्थ्य क्षेत्र संकटमा परेको देखिन्छ ।

१५ दिनमा अक्सिजन प्लान्ट राख्न सक्दैनौंः अस्पताल

मुलुकभर अक्सिजनको हाहाकार भइरहँदा जिम्मेवार बन्नुपर्ने देशका ठूला र नाम चलेका अस्पतालले नै हात उठाउन थालेपछि कोरोना संक्रमित झन् समस्यामा पर्ने देखिएको छ ।

आफूलाई मुलुकको सुविधासम्पन्न अस्पताल घोषणा गर्न अग्रसर हुने अस्पताल अक्सिजन प्लान्ट राख्ने, मर्मत सम्भार गर्ने, अक्सिजन सिलिन्डरको व्यवस्था गर्नेतर्फ भन्दा पनि सूचना निकालेर उपचार गर्न सकिँदैन भन्दै यो परिस्थितबाट बाहिरन खोजेको देखिन्छ। 

ठूला अस्पतालले नै व्यवस्थापन र खर्च धान्न नसकिने  भन्दै सरकारले भनेजस्तो १५ दिनमा अक्सिजन  प्लान्ट जडान गर्न नकिने जनाएका छन्। काठमाडौंको नर्भिक अस्पतालले अहिले नयाँ बिरामी लिन नसक्ने जनाइसकेको छ। आफूलाई अन्तर्राष्ट्रिय स्तरको दाबी गर्दै आएका ग्रान्डी अस्पताल, मेडिसिटीलगायतले १५ दिनभित्र अस्पतालमा अक्सिजन जडान गर्न नसकिने बताउँदै आएका छन्।

Logo