काठमाडौँ महानगरपालिकालाई भगिनी सहर तिव्वतको ल्हासा नगरले भीजी ७० मोडेलका ४ थान भेन्टिलेटर सहयोग स्वरुप पठाएको छ। ती सामाग्रीहरु बैशाख ३१ गते महानगरमा आइपुगेका हुन् ।
बैशाख २७ गते ल्हासाबाट सडकमार्ग हुँदै पठाइएका सामान ३० गते तातोपानी भन्सारमा पुगेका थिए । भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल र लाञ्जाउका लागि काठमाडौँ महानगरका अवैतनिक महावाणिज्यदूत किशोर बस्नेतले भन्सारबाट सामान बुझेर ३० गते राति महानगरसम्म ल्याएका थिए । ती सामान उनीहरुले महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई बुझाएका छन्। प्राप्त सामाग्रीहरुमा ‘हामी हिमाल र नदीले जोडिएका छौँ । हाम्रो मित्रता सधैँ रहिरहनेछ ।’ र ‘ल्हासा र काठमाडौँको मित्रता दिगो रही रहन्छ ।’ लेखिएको छ।
‘ल्हासा र काठमाडौँको आत्मीय भगिनी सम्बन्ध छ । गएको बर्ष पनि ल्हासाले काठमाडौँलाई कोभिड परीक्षणका लागि न्युक्लेइक एसिड एट्राक्सन मेसिन, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट, भिटीएम, आरडीटी र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ) लगायत सामाग्री र उपकरण सहयोग गरेको थियो ।
त्यस्तै सडक सफाइमा प्रयोग हुने ब्रुमर मेसिन पनि प्राप्त भएका छन्।’ भेन्टिलेटर बुझिसकेपछि प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘काठमाडौँका नागरिककातर्फबाट हामी ल्हासा नगर र त्यहाँका नागरिकप्रति आभार प्रकट गर्दछौँ।’ ज्ञवालीका अनुसार प्राप्त सामाग्री कसरी उपयोगमा ल्याउने भन्ने विषयमा छिट्टै निर्णय हुनेछ।





























प्रतिक्रिया