आइसियू वार्ड र अक्सिजन प्लान्ट निर्माणका लागि चौधरी फाउन्डेसन सक्रिय

आइसियू वार्ड र अक्सिजन प्लान्ट निर्माणका लागि चौधरी फाउन्डेसन सक्रिय

केन्द्रबिन्दु
0
Shares

चौधरी फाउन्डेसनले आइसियू वार्ड र अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ। फाउन्डेसनले वीर अस्पतालमा आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको हो।

फाउन्डेसनले जनाए अनुसार वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गरिने छ। यसका लागि केही दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच सहयोग सम्वन्धमा हस्ताक्षर हुने बताइएको छ। 

यस्तै फाउन्डेसनले सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णालीको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने पनि जनाएको छ। 

वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर/प्रतिघण्टा रहनेछ। जसबाट एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ। 

‘अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने सामग्री आयात गर्न हाम्रो टिम अहोरात्र खटिएको छ’ फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनेको छ ‘हामीलाई विश्वास छ कि हामी केही दिनभित्रै सामाग्री आयात गरी प्लान्ट निर्माण गर्न र वीर अस्पतालका साथै कर्णाली र सुदूरपश्चिममा हाल विद्यमान अक्सिजन अभावको समस्या समाधान गर्न सफल हुनेछौं।’ यसका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। 

यस फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेलामा पनि देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पिपिई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो।
 

Skip This
Skip This
Logo