आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको सत्तारुढ नेकपा (एमाले) को कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ।
सिंहदरबारमा आज भएको बैठकले उक्त निर्णय गरेको र बुधबार पुनः बैठक बस्ने कार्यदलमा रहेका नेता भीमबहादुर रावलले जानकारी दिए। उनले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता तत्काल निर्माण गरी कार्यान्वयन गर्ने जनाउँदै पार्टीलाई एकताबद्धरुपमा अघि बढाउन सद्भाव तथा एकता वृद्धि गर्न, आपसी अविश्वास, अन्तरविरोध र असहयोगबाट अलग रहन सम्पूर्ण पार्टी पङ्तिलाई आव्हान गर्ने निर्णय पनि भएको बताए।
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गत वैशाख ३० र जेठ २ गतेको आपसी सहमतिका आधारमा नेता रावल, सुवास नेम्वाङसहित १० सदस्यीय कार्यदल गठन भएको थियो।
आजका बैठकमा काम विशेषले सदस्य विष्णुप्रसाद पौडेल र शङ्कर पोखरेल अनुपस्थित थिए। कार्यदललाई एमालेको साङ्गठनिक संरचना ०७५ जेठ ३ (माओवादी केन्द्रसँगको एकतापूर्व) को अवस्था, सहमतिमा जिम्मेवारी बाँडफाँट तथा माओवादीबाट प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापन लगायतबारे सुझाव दिन भनिएको छ।
गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमालेको पुरानै संरचना कायम हुनुपर्ने नेता नेपाल पक्षको अडान रहँदै आएको छ।





























प्रतिक्रिया