राष्ट्रियसभा उपनिर्वाचन: ‘बादल’लाई नेपाल समूहको ग्रिन सिग्नल

राष्ट्रियसभा उपनिर्वाचन: ‘बादल’लाई नेपाल समूहको ग्रिन सिग्नल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले वरिष्ठ नेता माधव नेपालले आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिताउने प्रतिबद्धता गरेका छन्।

नेपालले प्रतिबद्धता जनाएसँगै बादल पुनः राष्ट्रियसभाका सदस्य बन्ने पक्का जस्तै भएको छ।

नेपाल–थापाबीचको भेट सकरात्मक रहेको र नेता नेपालले सहयोग गर्ने बताएको गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले जारी गरेको प्रेस नोटमा भनेका छन् ।

भेटमा नेता नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेदवार रहेका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताएको प्रेस नोटमा उल्लेख छ। यदि माधव नेपाल पक्षले बादललाई सहयोग गरे अंकगणितको आधारमा बादलको जीत सुनिश्चित छ।

त्यसो त मंगलबार दिउँसो वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमा पुगेर थापाले सहयोगका लागि आग्रह गरेका थिए। 

थापाको आग्रहलाई जवाफमा नेपालले सकारात्मकरुपमा लिएको र तत्काल निर्णय गर्न कार्यदलको प्रतिवेदन पर्खिने एमाले सांसद सोमप्रसाद पाण्डेले बताए।

पार्टी विवाद समाधानका लागि संस्थापन पक्षसँग संवाद सुरू हुनु अघि नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षीसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवारका रुपमा अगाडि सारेको छ।

पछिल्लो समय संस्थापन पक्षसँग वार्तामा रहेको नेपाल पक्ष राष्ट्रियसभाको उपनिर्वाचनमा कसको पक्षमा उभिने भन्ने विषय प्रष्ट पारेको छैन। एमाले एक भएको खण्डमा बादलले जित्ने निश्चित छ। 

एमालेका उम्मेदवार बादलका पक्षमा मतदान गर्न महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख, उपप्रमुखलाई ह्वीप जारी गरिसकेका छन्।

त्यसो त बादल बागमती प्रदेशमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् । 

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि दुई ध्रुवमा विभाजित तत्कालीन नेकपा रहँदा बादलले ओलीलाई साथ दिएका थिए। पछि फागुन २३ मा माओवादी केन्द्र र एमाले अलग अलग रहेको सर्वोच्चको फैसलापछि पनि बादलले ओलीलाई सघाउने र एमालेमा समाहित हुने बताए। बादल एमालेमा प्रवेश गरेसँगै माओवादी केन्द्रले बादललाई कारवाही गर्दै र पदमुक्त गर्यो, त्यसपछि बादल गैरसांसदको भूमिकामा सरकारमा छन्।

Logo