नेपाल स्काउटको प्रदेश नम्बर १ तदर्थ समितिले विशेषज्ञ चिकित्सकहरुद्वारा परामर्श दिने गरी हेल्पलाइन सञ्चालनमा ल्याएको छ।
प्रदेशभरका नागरिकले स्वास्थ्य सेवा लिन सक्ने गरि उक्त हेल्पलाइनमा फोन गरेर आफ्नो समस्या बारे परामर्श लिन सकिने नेपाल स्काउटले जनाएकाे छ ।
एक नं. प्रदेश संयोजक रवी खनालका अनुसार कोरोनाको संक्रमण बढीरहेकाे र अस्पताल जान झनै जोखिम भइरहेको अवस्थामा फोनबाटै विशेषज्ञहरुसँग समस्या राखेपछि अस्पताल नै जानुपर्ने हो वा औषधि खानुपर्ने हो भनेर परामर्श लिन सकिने छ ।
विभिन्न अस्पतालनमा कार्यरत विशेषज्ञ चिकित्सकहरु उक्त हटलाइन सेवामा जोडिएका पनि संयाेजक खनालले जानकारी दिएका छन् ।
एक नं. प्रदेशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुले ‘डाक्टर अन कल’ नाम दिइएको हेल्पलाइन सेवामा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु तथा किड्नी रोग विशेषज्ञ प्रा.डा. सञ्जिवकुमार शर्मादेखि डाइटिसियन अदितश्री अधिकारीसमेत २३ जना विशेषज्ञ चिकित्सकहरुबाट परामर्श लिन पाइने छ।
लकडाउनका समयमा सर्वसाधारणहरु घरैमा बसेर स्वास्थ्य परामर्श सेवा लिन पाउन भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको स्काउट प्रदेश समितिका संयोजक खनाले बताए। स्काउटले सार्वजनिक गरेको पोष्टरमा सबै विशेषज्ञहरुको मोबाइल नम्बर समेत सार्वजनिक गरिएको छ।
संयोजक खनालले जनाए अनुसार कोरोना संक्रमितहरुलाई मात्र नभइ अन्य स्वास्थ्य समस्या भएकाहरुलाई पनि यो सेवा दिइनेछ।





























प्रतिक्रिया