इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ।
नेपालमा गतहप्ता कोभिड-१९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिग गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि. १.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा (१ वटा) बि.१.६१७.१ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार एक विज्ञप्ति निकाल्दै नेपालमा तेस्रो भेरियन्ट रहेको बारे जानकारी गराइसकेको छ। यस सन्दर्भमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यस अघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक रहको बताएका छन् ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। कृष्ण पौडेलले सुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताए। यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समूहमा उच्च संक्रमण रहेको पनि उनले जानकारी दिए।
डा. पौडेलले हाल कोभिड विरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रुपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्यूदर कम गराउन प्रभावकारी हुने पनि बताए। उनले भने– ‘कोभिशिल्ड खोप तुलनात्मक हिसाबले यो भेरियन्टमा पनि जटिलता कम गर्न र मृत्युदर कम गराउन सहयोगी/प्रभावकारी छ भन्ने बुझिन्छ। खोपको प्रभावकारिता राम्रै देखिएको छ।’
उनले सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने तथा सरसफाई लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै कोभिड १९ को तेस्रो भेरियन्टबाट बच्न सकिने भन्दै जनस्वास्थ्यको मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने पनि बताए।





























प्रतिक्रिया