‘बादल’लाई धोखाः चुनावमा पनि पराजित, मन्त्रीपद पनि गुम्यो (भिडियोसहित)

‘बादल’लाई धोखाः चुनावमा पनि पराजित, मन्त्रीपद पनि गुम्यो (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा हार बेहोरेका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भएका छन्। यसैबीच, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको निर्देशन नमानेको ठहर गर्दै त्यसप्रति आपत्ती जनाएको छ। 

सर्वोच्च अदालतले मन्त्रिपरिषदमा रहेका सात मन्त्रीको नियुक्ति असंवैधानिक ठहर गरको छ। । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो। यो सँगै गृहमन्त्री थापासहित सातै जना मन्त्री स्वतः पदमुक्त भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन्। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन्। 

आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले सो कुराको ब्रिफिङ गरेको स्रोतले जनाएको छ। बैठकले संसदको वर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय पनि गरेको छ । आजको बैठकका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको स्रोतको भनाइ छ। 

पदमुक्त भएको तीन दिनपछि अर्थात वैशाख ३० गते एमाले अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएका थिए। वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार २ वटा अध्यादेश जारी गरेकी छिन्।  मन्त्रिपरिषद्को सिफारिसमा उनले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी हुन्। 

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) खारेज गर्न माग गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्र नै अनियमितता र भ्रष्टाचारमा लागेको आरोप लगाउँदै खारेज गर्न माग गरेको हो। यस्तै माओवादी केन्द्रले अध्यक्ष प्रचण्डको नेतृत्वमा महामारीविरुद्ध लड्ने ३ लाख बढी पार्टीका नेता, कार्यकर्तालाई परिचालनको तयारी समेत गरेको छ। 

नेपालमा कोरोना संक्रमणका कारण जनजीवन अस्तव्यस्त बनेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि ध्यानाकर्षण गराएको छ। १५ बुँदे ध्यानाकर्षण पत्रमा कांग्रेसले खोप आपूर्ति गर्ने व्यवस्था विचौलियारहित र पारदर्शी ढंगले गर्न, अक्सिजन कन्सनट्रेटर, अक्सिजन प्लान्ट र अक्सिजन सिलिण्डरको आपूर्तिलाई सहज पर्याप्त र पारदर्शी बनाउन लगायतका माग अघि सारेको छ।

Logo