प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालतमा गएपछि प्रधानमन्त्री केपी ओलीले आफ्ना कदमको बचाउ गरेका छन्।
आइतबार पत्रकारहरूसँगको अन्तरक्रियामा प्रतिनिधिसभा विघटन संविधानसम्मत् रहेको पनि दाबी प्रस्तुत गरे।
संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुने गणित संसदमा नभएको अवस्थामा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा जानु संवैधानिक रहेको बताए। जुन लोकतान्त्रिक भएको उनको जिकिर छ।
नेता माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै आफ्नो घरभित्र पसेर डस्टविनमा फ्याँक्नुपर्ने फोहोरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिकहाँ लगेर वैकिल्पक सरकार कहीँ बन्छ भन्दै ओलीले प्रश्न गरेका छन्।
देउवाले डस्टविनमा फ्याक्नु पर्नेहरूको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएदिएर ‘कन्फ्युजन’ गराउँदा धारा ७६ (५) अनुसार बहुमत पुर्याएर प्रधानमन्त्री बन्न आफूलाई बाधा पुगेको गुनासो गरे।
जबकि उनैले प्रधानमन्त्रीको दावेदारी प्रस्तुत गर्नु अघिल्लो दिन मन्त्रिपरिषद् बैठकबाट २७ वैशाखमा भन्दा राजनीतिक परिस्थितिमा तात्विक अन्तर नदेखिएको र विश्वासको मत लिने आधार नभएकोले उपधारा (५) अनुसार वैकल्पिक सरकार गठनका लागि आह्वान गराएका थिए।
तर, आइतबार पत्रकारसँग अन्तरक्रिया आयोजना गरेका ओलीले राजनीतिमा कहिलेकाँही आकस्मिक परिवर्तन आउने र पहिले आफूले भने भन्दा ठीक उल्टो बहुमत पुग्ने वातावरण बनेको बताए।
‘एमाले संसदीय दलको नेताको हैसियतले मसँग भएको १२१ सांसद र जसपा अध्यक्ष महन्थ ठाकुरजी र दलका नेता राजेन्द्र महतोको समर्थनमा १५३ सांसदको हस्ताक्षरसहित ७६ (५) अनुसारको सरकारका लागि दाबी गर्न राष्ट्रपतिकहाँ गएँ’, प्रधानमन्त्री ओली भने, ‘राजनीतिमा कहिले कहिले परिवर्तन आउँछ, आयो र जबकि पहिले मैले भनेको थिएँ– मैले भरखरै (२७ वैशाखमा) विश्वास लिन सकिनँ र परिस्थितिमा तात्विक अन्तर छैन।’
उनले वैकल्पिक सरकार गठनका लागि अवरोध पनि नगरेको उल्लेख गरे।
ओलीको आरोप–प्रचण्डपथमा देउवा हिँडे
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई लक्षित गर्दै प्रजातन्त्रवादी शक्तिको सभापतिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गुरु थापेको टिप्पणी गरे। गुरु थापेर देउवा प्रचण्डपथमा हिँडेको पनि बताए।
‘अहिले त प्रजातन्त्रवादी भन्ने पार्टी पनि प्रचण्डपथमा गए जस्तो छ, सरकार चलाउन नदिने, काम गर्न नदिने, कूप्रचार गर्ने, असभ्य प्रचार गर्ने, जनतामा भ्रम फिँजाउने प्रयास गर्दैछ’, ओलीले थपे, ‘उत्तेजना र आवेशमा प्रचण्डलाई गुरु थापेर प्रचण्डप्रथमा गएको देखियो।’
देउवाले एमालेका विकाउ प्रवृत्ति भएका केही तत्वहरू (माधव नेपाल पक्ष) लाई उकासेर केहीलाई सही गराउँदै र केहीको चाहिँ किर्ते गराएर लोकतन्त्रमा क्षणिक स्वार्थका लागि दलीय अनुशासनहीनता तोडाएको आरोप पनि लगाएका छन्। यस्तै, कांग्रेस सभापति देउवाको नेतृत्वमा भएको निर्वाचनबाटै एमाले ठूलो दल भएको र अहिले एमालेले गर्ने निर्वाचनमा कांग्रेस सहभागी नहुने भन्ने कुरा लोकतान्त्रिक नभएको बताए।
कांग्रेसका सचेतक पुष्पा भुसालले शनिबार ओलीले गर्ने निर्वाचनमा सहभागी नहुने अभिव्यक्ति दिएकी थिइन। त्यसको जवाफ ओलीले दिएका हुन्।
प्रचण्डको चाहना सत्ता कब्जा गरेर तानाशाही शासन चलाउने थियो
प्रचण्डको नेतृत्वमा भएको १० बर्षे सशस्त्र संघर्षलाई हिंसा भन्दै ओलीले हिंसालाई निरन्तरता दिन नसकेपछि शान्तिपूर्ण राजनीतिमा आएको बताए। लोकतन्त्र र लोकतान्त्रिक प्रणालीका विरुद्ध हिंसात्मक गतिविधि गरे पनि सत्ता कब्जा गर्न नसक्दा ‘ट्याक्टफुल्ली मुभ’ भएको टिप्पणी गरे।
शान्तिपूर्ण राजनीतिमा आएपछि फेरि सत्ता कब्जा गर्ने र लोकतन्त्रको विरुद्धमा हिँडेर लोकतन्त्रलाई सिध्याउन खोजेको संगीन माओवादी अध्यक्ष प्रचण्डलाई लगाएका छन्। उनले भने, ‘संवैधानिक बाटाहरू खुला थिए, लोकतान्त्रिक प्रणालीविरुद्ध उभिएर बलजफ्ती सत्ता कब्जा गर्ने र तानाशाही शासन सञ्चालन गर्ने मनशाय प्रचण्डमा थियो र छ।’
बुद्धिजीविलाई ओलीको प्रश्नः अनुचित कुराकाविरुद्ध किन बोल्नु हुन्न?
प्रधानमन्त्री पदबाट राजीनामा नदिइ संविधानको धारा (७६) को (५) अनुसारको वैकिल्पक सरकार गठन गराउन सिफारिश गरेपछि आलोचना खेपेका ओलीले अन्नतः फेरि प्रतिनिधिसभा विघटन गराएपछि बुद्धिजीविहरू ओलीका कदमविरुद्ध उभिएका छन्।
उनीहरूप्रति ओली आइतबार खनिए। दलीय अनुशासन तोडाउने, एमाले र जसपा पार्टी फुटाउन खोज्ने अनुचित काम देउवाले गरेको भन्दै त्यसविरुद्ध किन बोल्नु हुन्न? र लोकतन्त्रमा यस्तो कुरा ग्राह्य हुँदैन किन भन्नु हुन्न? ओलीको प्रश्न छ। उनका अनुसार लोकतन्त्रमा दल छान्ने र छोड्ने विधि हुन्छ। तर, त्यही दलभित्र बसेर अनुशासन तोड्नु उचित हुँदैन।
कसरी ‘कू’ भयो?
शुक्रबार मध्यरातमा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी गठबन्धनमा रहेका दलसहित नागरिक समाजका अगुवाहरूले फेरि संवैधानिक ‘कू’ भएको बताउँदै आएका छन्। त्यसविरुद्ध लडाइँ लड्ने चेतावनी पनि दिएका छन्।
यसप्रति आक्रोशित हुँदै ओलीले प्रश्न गरेका छन्, ‘आफूले भने जस्तो भएन भने ‘कू’ भयो÷प्रतिगमन भयो भन्ने? कस्तोलाई ‘कू’ भनिन्छ? बर्मामा जस्तै भएको हो? संविधानको मर्म र भावनाअुनसार प्रतिनिधिसभा विघटन गर्दा कू हुन्छ? लोकतान्त्रिक अभ्यास गर्दा कू हुन्छ?’
ओलीले संसदको मौजुदा गणित (सांसद संख्या) देशको आवश्यकता पूरा गर्न सहयोगसिद्ध नभएको र वल्लो घरको नरे, पल्लो घरमा सरे जस्तो खालको फोहोरी खेल मौजुदा गणितमा भएकोले विघटन उपयुक्त भएको स्पष्ट पारे।





























प्रतिक्रिया