हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता मधु अधिकारीले राप्रपालाई कसैले चाहेर पनि सक्न नसक्ने भन्दै कांग्रेस र कम्युनिष्टको विकल्पका रुपमा स्थापित हुने दाबी गरेका छन् । बुधबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता अधिकारीले त्यस्तो दाबी गरेका हुन् । पार्टीलाई उठाएर जनताको माझमा स्थापित गर्नको लागि लगनशिलता र मेहनत जरुरी भएको भन्दै अब जनताको माझ जान ढिलाई गर्न नहुनेमा अधिकारीले जोड दिए । भ्रष्टाचार, धर्म परिवर्तनको डढेलो तथा विकृति र बेथितिका कारण जनताले विकल्पको खोजी गरी रहेको उल्लेख गर्दै नेता अधिकारीले पार्टीलाई भावनात्मक रुपमा जोड्दै अघि बढ्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै राप्रपाका युवा नेता एवं सचिवालय सदस्य राजाराम बर्तौलाले पार्टीका अगाडि रहेका चुनौतीहरुलाई चिर्दै उच्च मनोबलका साथ अघि बढ्नुपर्ने बताए । हिजोका त्रुटि कमजोरीबाट शिक्षा लिँदै नयाँ ढंगबाट पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको साथ लिएर पार्टी अघि बढ्नुपर्ने उनको भनाइ छ । राप्रपाको पार्टी एकता पश्चात केन्द्र र जिल्लाको दोहोरो जिम्मेवारीमा नरहने नीति अनुरुप बुधबार पार्टी अध्यक्षको जिम्मेवारी केन्द्रीय सदस्य समेत रहेका मधु अधिकारीले गत जिल्ला अधिवेशनबाट निर्वाचित रामहरी न्यौपानेलाई हस्तान्तरण गरेका छन् ।
अध्यक्ष न्यौपानेले मकवानपुरमा राप्रपालाई बलियो रुपमा स्थापित गर्न सबैको सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा मकवानपुर जिल्लाबाट केन्द्रीय सदस्य मनोनित भएका राजाराम बर्तौला र बालकृष्ण कार्कीलाई सम्मान समेत गरिएको थियो । मकवानपुर जिल्लाबाट केन्द्रमा दिपकबहादुर सिहं, गणेश थापा, राम थोकर र नवराज ढकालको प्रतिनिधित्व रहेको छ । कार्यक्रममा जिल्ला, क्षेत्र, नगरका पदाधिकारीहरुको सहभागीता रहेको युवा नगर अध्यक्ष भृगु कार्कीले जानकारी दिए ।





























प्रतिक्रिया