प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने ढंगले सरकारले काम गरिरहेको बताएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार प्रेस चौतारी आवद्ध पत्रकारसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले चुनावी वातावरण विगार्नेहरुले खोप र सार्वभौमसत्ताको प्रयोगका बारेमा जनतामा भ्रम श्रृजना गर्ने काम गरेको टिप्पणी गरे। यसलाई उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको नाम लिएर उनीहरुले चलाएको ‘सेन्टिमेण्टल ब्लाकमेलिङ’ भनी टिप्पणी गरे।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले लोकतन्त्रलाई पराजित गर्न नसकेपछि प्रणालीभित्रै छिरेर लोकतन्त्रलाई हुडल्ने काम गरेको दाबी प्रधानमन्त्रीले गरे।
उनले नेपाली जनताले राष्ट्रपति कार्यालयमा भएको अनुशासनहीन, अराजकता र मर्यादाहिन क्रियाकलापमा संलग्न, दलीय प्रणालीलाई उल्लंघन गर्ने र अरु पार्टीमा विग्रह पैदा गरेर आफ्नो दुनो सोच्याउन खोज्ने अस्वस्थ्य प्रवृत्ति र तीनका अगुवाको मुल्यांकन गरिरहेको बताए। उनले आफ्नो सार्वभौमसत्ताको सही ढंगले प्रयोग गर्नुपर्ने बेलामा सेन्टिमेन्टमा ल्याएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बञ्चित गराउने काम गर्नु ‘सेन्टिमेन्टल ब्लाकमेलिङ’ भएको बताए।
चुनाव अगाडि नै जनतालाई खोप लगाइसक्ने ढंगले मित्रराष्ट्र तथा खोप उत्पादकहरुसँग सरकारले कुरा गरिरहेको पनि उनले उल्लेख गरे। उनले सही सत्य कुराको जानकारी गराएर भ्रम छर्नेहरुबाट जनतालाई जोगाउन सञ्चारजगतसँग आग्रह पनि गरे।





























प्रतिक्रिया