केही दिनमै संसद् पुनःस्थापना हुन्छ: गगन थापा

केही दिनमै संसद् पुनःस्थापना हुन्छ: गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले केही दिनमै प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन्।

करिब ५४ प्रतिशत सांसदहरू उपस्थित भएर पुनःस्थापना गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको पनि उनले बताए।

उनले एकजना अहंकारी र स्वेच्छाचारी शासकका कारण पटकपटक प्रतिनिधिसभा पुनःस्थापनाका लागि न्यायालय आउनु परेको बताए।

प्रतिनिधिसभा पुनःस्थापनासँगै संविधानको धारा ७६ (५)अनुसार प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको नियुक्त हुनुपर्ने पनि बताए।

यस्तै प्रधानमन्त्री केपी ओली पछिल्लो समय बेसुरको भएको उनको आरोप छ। प्रचण्डपथमा कांग्रेस लागेको अभिव्यक्ति  ओलीले आइतबार दिएका थिए। जवाफस्वरुप थापाले ओलीको अभिव्यक्ति टिप्पणी लायक पनि नभएको बताए।

यता विपक्षी गठबन्धनमा रहेको दल नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाको तत्काल कायम सदस्य संख्यामध्ये ५४ प्रतिशत अर्थात् १४६ जनाको हस्ताक्षरसहितको समर्थन शेरबहादुर देववालाई रहेको बताएका छन्।

उनले सोही आधारमा संविधानको धारा (७६) को ५ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्न रिटमार्फत माग गरिएको बताए।

सर्वोच्च अदालतमा आज रिट दायरपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै उनले शुक्रबार नै देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गर्नुपर्नेमा त्यसो नगरिएको बताए।

उनले प्रधानमन्त्री पदमा नियुक्त नगरेर संविधानको विरुद्धमा राष्ट्रपति र प्रधानमन्त्री केपी ओली गएको पनि आरोप लगाए।

Logo