महामारीमा घरेलु र यौनजन्य हिंसाका घटना बढी

महामारीमा घरेलु र यौनजन्य हिंसाका घटना बढी

केन्द्रबिन्दु
0
Shares

बलेवा । कोरोना महामारीको समयमा पनि बागलुङमा महिला हिंसाका घटना बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय र यहाँका स्थानीय तहका न्यायिक समितिहरूमा यस्ता घटनाका मुद्दा धेरै दर्ता भएका हुन् । बन्दाबन्दी, निशेधाज्ञा र संक्रमणको जोखिम बढिरहेका बेला महिला हिंसाका घटना भने रोकिएका छैनन् । यस्ता घटनामध्ये घरेलु प्रकृतिका र यौनजन्य हिंसा धेरै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

असोज १५ गतेसम्म प्रहरीको महिला सेल लगायत विभिन्न पालिकाको न्यायिक समितिमा सयभन्दा बढी यस्ता घटना दर्ता भएका छन् । महिला सेलमा मात्रै ५० भन्दा बढी उजुरी दर्ता भएको प्रहरी सहायक निरीक्षक अनु राईले बताइन् । उनले भनिन्–‘लकडाउन बजार क्षेत्रमा भएपनि ग्रामीण क्षेत्रमा घटना बढिरहेका छन् । अधिकांश घटनाका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार र विभिन्न हिंसाका गरी २४ मुद्दा जिल्ला अदालतमा पुगेका छन् । लकडाउनको समयमा मुद्दाहरू थोरै परेकामा आंशिक खुला भएपछि भने मुद्दाको दर बढेको हो ।’

बागलुङ नगरपालिकाको न्यायिक समितिमा पनि ९ मुद्दामध्ये अधिकांश घरेलु हिंसाकै भएको कानुन अधिकृत नरेन्द्रबहादुर केसीले बताए । ताराखोला गाउँपालिकामा तीन वटा मात्रै यस्ता मुद्दा दर्ता भएको उपाध्यक्ष डिलकुमारी पुनले बताइन् । ढोरपाटन नगरपालिकामा एउटै मुद्दा नपरे पनि केही मुद्दा भने प्रहरीमै दायर भएका त्यहाँका उपप्रमुख करमती पुनले जानकारी दिइन् ।–रासस

Logo