स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चार हप्तापछि कोरोना संक्रमणदर घट्दै जाने अनुमान गरेको छ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हृदयेश त्रिपाठीले अहिले दैनिक सरदर ८ हजार ३ सय जनामा संक्रमण भेटिएको बताउँदै चार हप्तापछि यो दर घट्ने दाबी गरे।
निषेधाज्ञाका बाबजुद कतिपय सेवाहरु सूचारु भइरहेको अवस्थामा संक्रमण अपेक्षाकृतरुपमा नियन्त्रणमा नआएको मन्त्री त्रिपाठीले बताए।
उनका अनुसार अहिले देशभर १५७ सरकारी र ४५ वटा निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार भइरहेको छ। त्यस्तै मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि अमेरिका, बेलायत, रुस, भारत र चीनसँग उच्चस्तरिय पहल गरिएको बताएका छन्।
खोप आपूर्तिका लागि ती मुलुकलाई पत्राचारसमेत गरिएको उनले बताए। नर्वेमा स्टकमा रहेको खोप ल्याउनका लागि शुक्रबार आफूले नर्वेली राजदूतसँग कुरा गरेको र नर्वेले सकारात्मक जवाफ दिएको मन्त्री त्रिपाठीले जानकारी दिए।
मित्रराष्ट्रबाट अहिलेसम्म २ अर्ब बराबरको स्वास्थ्य सामाग्री नेपालले प्राप्त गरेको जानकारी दिँदै त्रिपाठीले थप मुलुकहरुले स्वास्थ्य सहायता उपलब्ध गराउन चाहेको समेत बताए।
त्यस्तै नेपाल प्रवेश गर्ने १४ वटा मुख्य नाकामा एन्टीजेन परीक्षण र स्क्रिन टेस्ट गर्ने हेल्थ डेस्क स्थापना गरिएको जानकारी मन्त्री त्रिपाठीले दिए।
आजसम्म नेपालमा १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित रहेका छन्। १ हजार ७२१ जना आईसीयूमा उपचाररत रहेकोमा ४२४ जना भेन्टिलेटरमा छन्।





























प्रतिक्रिया