काभ्रेको एउटा गाउँ, जहाँ एक चक्की सिटामोल लिन पनि २ घण्टा हिँडनुपर्छ

काभ्रेको एउटा गाउँ, जहाँ एक चक्की सिटामोल लिन पनि २ घण्टा हिँडनुपर्छ

केन्द्रबिन्दु
0
Shares

 नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य विकासका अत्यावश्यक पूर्वाधारका रुपमा लिइन्छ। त्यसमा पनि कोरोना महामारी फैलिएको विषम परिस्थितिमा स्वास्थ्य जस्तो विषय महत्वपूर्ण रहन्छ। काभ्रेको बेथानचोक गाउँपालिकाकै विकट मानिएको वडा नं १ को एउटा क्षेत्र जहाँ साधारण औषधि सिटामोल पाउनका लागि पनि २ घण्टा पैदल हिँडनु पर्छ।

साविक च्याम्राङ्बेसी गाविसको तल्लो क्षेत्र भनेर चिनिने सुकुम, झिङ्गे, लामिडाँडा तेर्साबाटा, कलङसिङ लगायतका गाउँका बासिन्दाहरु स्वास्थ्यका साधारण सेवा लिन २ घण्टाको बाटो पैदल हिँडेर साविक वडा नं २ मा रहेको स्वास्थ्य चौकीसम्म पुग्नुपर्ने स्थानीय बताउँछन्।

साधारण चोटपटक लाग्दा होस् या अन्य स्वास्थ्य सुविधा आवश्यक पर्दा २ घण्टाको बाटो हिँडेर च्याम्राङबेसीसम्म पुग्नुपर्छ वा विकल्पको रुपमा १ घण्टा बढी हिँडेर ललितपुरको साविक ठूलादुर्लुङ स्वास्थ्य चौकी सम्म पुग्नु पर्छ। स्वास्थ्य सल्लाह लिन पर्यो भने पनि च्याम्राङबेसी स्वास्थ्य चौकी रहेको क्षेत्रमा फोन लाग्दैन। 

गाउँपालिका बनेपछि सबै सुविधा सहज हुन्छ भन्थे एक चक्की सिटामोल लिन पनि २ घण्टा हिँडनुपर्छ’ सुकुमका कृष्ण दाहाल गुनासो गर्छन्। ‘यो महामारीको समय कोही बिरामी पर्दा पनि घरमै तातोपानी खायो, बस्यो। चेकजाँच गर्न नजिक स्वास्थ्य संस्था छैन । यो विधि गर्नुहोस् भनेर सुझाव दिने कोही आउँदैन। स्वास्थ्यका लागि त हामी विकटमाथि झन विकटमा पो पर्ने भयौं त’, दाहालले थपे।  

हिउँदमा उक्त क्षेत्रमा यातायातका साधन चले पनि वर्षायाम सुरुभएसँगै सवारी साधनहरु बन्द हुने गरेको छ। वर्षायामसँगै उक्त क्षेत्रका खोला बढ्ने भएका कारण सवारी साधनहरु चल्दैन भने ठूलो वर्षा हुँदा पहिरोका कारण पैदल हिड्नसमेत कठिन हुने  गरेको छ। जसका कारण उक्त क्षेत्रमा साधारण उपचार पाउन पनि लामो समय लाग्ने उनीहरु बताउँछन्।  

दुर्घटनामा परेर घाइते हुँदाको सम्झना गर्दै स्थानीय भरत तिमल्सिना २४ घण्टापछि मात्र आफ्नो घाउको प्राथमिक उपचार भएको बताउँछन्। आफूहरु साधारण स्वास्थ्य सेवाबाट पनि बञ्चित हुनु परेकोमा दुःख व्यक्त गर्छन्। कुल १ सय २० भन्दा बढी घरधुरी रहेको उक्त क्षेत्रमा वडाको स्वास्थ्य चौकीबाट मासिकरुपमा खोप क्लिनिक संचालन गर्ने गरेको छ। उक्त खोप क्लिनिकमा आवश्यक पर्ने साधारण औषधि उपलब्ध गराए पनि बाँकी समय स्थानीय स्वास्थ्य सुविधाबाट बञ्चित हुने गरेका छन्। 

संघियता कार्यान्वयनसँगै स्वास्थ्य सुविधामा समस्या भएमा नगर क्षेत्रमा शहरी स्वास्थ्य केन्द्र तथा गाउँपालिका क्षेत्रमा ग्रामीण स्वास्थ्य इकाई स्थापना गरि आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउने गरेको पाइन्छ। यस क्षेत्रका लागि पनि स्वास्थ्य इकाई स्थापनाका लागि आफूले निरन्तर प्रयास गरिरहेको स्वास्थ्य चौकी च्याम्राङबेसीका स्वास्थ्यचौकी प्रमुख राधेश्याम कर्मचार्यले बताए। 

यस अघि पनि बेथानचोक गापा स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सिनाले उक्त क्षेत्रमा स्वास्थ्य सेवाको असुविधा रहेको र स्वास्थ्य इकाई स्थापना गर्नुपर्ने बताएका थिए। पालिकाभित्रका विभिन्न स्थानमा इकाई स्थापना भइसक्दा पनि यस क्षेत्रका नागरिकले सिटामोल पाउन पनि कठिनाई भएको छ। दुरीको हिसाबमा टाढा भए पनि जनसंख्या कम भएर इकाई स्थापना गर्न नसकेको र यस्ता क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाको पनि व्यवस्था रहेको पालिकाबाट जवाफ पाउने गरेको स्थानीय हरि तिमल्सिना बताउँछन् ।

कोरोना महामारीका कारण उक्त क्षेत्रसँग नजिक पर्ने खानीखोला गाउँपालिका तथा ललितपुरको महाँकाल गाउँपालिकाका स्थानीयमा संक्रमण पुष्टि भइसकेको छ। जसका कारण यो क्षेत्र पनि जोखिममा रहेको छ। केही मानिस विरामी भए पनि उनीहरुको परीक्षण गर्न सक्ने अवस्था पनि छैन। वर्षायामको शुरुवात हुनै लाग्दा स्वास्थ्य चौकीसम्म आवतजावतमा पनि कठिनाई हुन्छ। यस्तो अवस्थामा गाउँमा मानिसहरु बिरामी पर्दा अन्य नागरिक त्रसित हुनु पर्ने अवस्था आएको स्थानीय बताउँछन्।

Logo