अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ। 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गरेका छन्। 

उनले अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा संस्थागतरूपमा लगिएका सिलिण्डर फिर्ता नगर्नाले समस्या भएको बताएका छन् ।  ‘एउटा उद्योगका अक्सिजन सिलिण्डर अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेको छ। यसले आगामी दिनमा समस्या निम्त्याउने देखिन्छ’, सहप्रवक्ता डा अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले व्यक्तिगत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डर समयमा नै जुन कम्पनी वा अस्पतालका सिलिण्डर हुन तिनै अक्सिजन उत्पादक कम्पनी वा अस्पतालमा पुग्ने गरी आवश्यक व्यवस्था मिलाउन अनुरोध छ।’

सूचनामा अक्सिजन सिलिण्डर देशका दूरदराजमा वा व्यक्तिका घरमा थन्किएर रहेमा अस्पतालमा रहेका सघन उपचाररत सङ्क्रमितलाई समस्या पर्ने उल्लेख गरिएको छ। उनले सङ्क्रमणको महामारीको समयमा अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने, गराउने कार्यलाई बन्द गर्न, गराउन तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्नसमेत अनुरोध गरेका छन्। 

मन्त्रालयका अनुसार अहिले ३२ वटा अस्पतालमा अक्सिजन प्लान्ट र तीन अस्पतालमा तरल अक्सिजन प्लान्ट रहेका छन्। सङ्क्रमणको दोस्रो लहर आइसकेपछि सरकारले ९०० अक्सिजन कन्सन्ट्रेटर र पाँच हजार अक्सिजन सिलिण्डर ल्याएको छ। मन्त्रालयले अहिले हप्तामा ७० देखि ८० टन तरल अक्सिजन भारतमा आयात गरिरहेको छ।

Skip This
Skip This
Logo