हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी सबै मुद्दा संवैधानिक इजलासबाट सुनुवाइ गर्ने भएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले यस्तो आदेश गरेको हो। अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिट निवेदनहरूलाई संवैधानिक इजलासमा सुनुवाइ गर्ने भएपछि फेरि एकपटक संवैधानिक इजलासबारे चासो सुरु भएको छ। यसैबीच सर्वोच्च अदालतको बिहिबारको पूर्ण वैठकले सार्वजनिक सरोकार र जरुरी प्रकृतिका रिट निवेदन दर्ता र सुनुवाइ जेठ २१ गतेसम्म गर्नेे निर्णय पनि गरेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक संकट पैदा गरेको बताएका छन्। आफूले प्रधानमन्त्रीको लागि बहुमतभन्दा बढी सदस्यको हस्ताक्षर गरेर बुझाएको भएपनि राष्ट्रपतिले प्रमाणित गर्ने प्रयाससमेत नगरीकन संसद विघटन गरेको सभापति देउवाको गुनासो छ। यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानत्ः निर्धारित मितिमै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । उनले हालसम्म टुंगो लागेका क्रियाशिल सदस्यहरुलाई मात्रै महाधिवेशन प्रतिनिधि बनाएर महाधिवेशन गर्न सकिने विकल्प पनि अघि सारेका छन्।
प्रतिनिधिसभा विघटनपछि सघन छलफल थालेका सभामुख अग्निप्रसाद सापकोटाले संविधान र संसदको रक्षाका लागि आफू जस्तोसुकै जोखिम उठाउन तयार रहेको बताएका छन्। कानुनविदहरुसँगको छलफलपछि उनले संवैधानिकरूपमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका हुन्। संसदलाई प्रभावकारीरुपमा सञ्चालन गरिरहेका बेला एकाएक विघटनले धेरै कुरामा असर पारेको भन्दै सभामुखले जनताले दिएको सार्वभौम अधिकार जुनसुकै बेला प्रयोग गर्न सक्ने बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट नागरिकलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन्। प्रधानमन्त्रीले नागरिककै जीवन रक्षाका लागि ३००/४०० पर्ने अक्सिजन सिलिण्डर चीनबाट एउटैलाई ५० हजारसम्म तिरेर ल्याइएको र खोप उत्पादन गर्ने देश नभए पनि भारतपछि नेपालले नै लगाउन पाएको जिकिर गरे पनि गरेका छन्।
कोरोना महामारीकै बेला नेपालमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ। काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको पशु सेवा भिवागले जनाएको हो। कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो। पशुपक्षी मन्त्रालयले पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ।





























प्रतिक्रिया