आज १४ औं गणतन्त्र दिवस विविध कार्यक्रम आयोजना गरी मनाईंदै

आज १४ औं गणतन्त्र दिवस विविध कार्यक्रम आयोजना गरी मनाईंदै

केन्द्रबिन्दु
0
Shares

गणतन्त्र दिवस–२०७८ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। संविधानसभाको पहिलो बैठकले वि.सं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।

विगत वर्षमा नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ स्वदेश तथा विदेशमा तीन दिनसम्म मनाउने गरिएको भए पनि यस वर्ष त्यो सम्भव भएन । कोरोनाको महामारीले देशभर लकडाउनमा रहेकाले गणतन्त्र दिवस शुभकामना सन्देश आदान प्रदानमै सीमित हुने भएको छ ।

लामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाइ गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रुपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको थियो । वि.सं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि स्थानीयतह , प्रदेश र केन्द्रको निर्वाचनसँगै संविधानको कार्यान्वयन प्रक्रिया पनि सुरु भएको छ।

वि.सं २०१५ मा संसदीय निर्वाचन भई प्रथम जननिर्वाचित सरकार गठन भएपनि त्यसले १८ महिनाभन्दा बढी काम गर्न पाएन। राजा महेन्द्रले विसं २०१७ पुस १ गते प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई शाही नेपाली सेनाको शक्तिका भरमा नजरबन्द गरी निर्दलीय पञ्चायती शासनको सूत्रपात गरेका थिए।

जहानियाँ राणा शासनको जगजगीका बेला स्थापना भएको नेपाली कांग्रेसले संविधानसभाबाट संविधान बनाई प्रजातन्त्र स्थापनालाई मुख्य लक्ष्य बनाएको थियो । विसं २००७ फागुन ७ गते राजा त्रिभुवनले संविधानसभा निर्वाचनको शाही घोषणा गरेपनि त्यो पुरा हुन सकेन । त्यहि मुल लक्ष्य ०७२ सालमा पूरा भयो ।

यद्यपी पछिल्ला दिनहरुमा गणतन्त्रकै उपेक्षा हुनेगरि राजनितिक दलका नेता, प्रधानमन्त्री, राष्ट्रपति लगायतमा तत्कालिन राजतन्त्रको झल्को भइरहने खालका गतिविधि हुने गरेका छन् । यसले आम नागरिकमा वितृक्ष्णा जागृत भएको छ।

Logo