महामारीमा अभिभावककाे भूमिका निभाउँदै नेपाल स्काउटः यस्ता छन् १० उत्कृष्ट कार्य

महामारीमा अभिभावककाे भूमिका निभाउँदै नेपाल स्काउटः यस्ता छन् १० उत्कृष्ट कार्य

केन्द्रबिन्दु
0
Shares

नेपाल स्काउटले गत वर्षदेखि नै कोरोना (कोभिड–१९) भाइरस सम्बन्धी सचेतना कार्यक्रम गरेको थियाे। विश्वभर महामारीको रूपमा फैलिएको काेराेना भाइरसको रोकथामका लागि हात धुने अभियानसहित देशभरी एक सय भन्दा बढी स्थानमा ह्यान्ड वासिङ स्टेशन संचालन गरेको थियाे।

कोरोना भाइरसको रोकथामका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सर्वसाधारणलाई हात धुने तरिका, स्यानिटाईजरको प्रयोगबारे जानकारीका लागि पर्चा र ब्यानरसहित अभियान चलाइएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिएका छन् ।

हुन त स्काउटले लकडाउन भन्दा पहिले पनि यस्ता सामाजिक कामहरु गरेको थियो । लकडाउनको सुरुवातदेखि नै यसले आफूलाई अग्रपंक्तिमा राख्न सफल भयो। विभिन्न ठाउँमा राहत वितरण गर्ने देखि लिएर राजधानीका विभिन्न धार्मिकस्थलमा मानिस जान नपाएपछि त्यहाँ भोका रहेका पशुपंक्षीलाई खानेकुरा खुवाउनेसमेत काममा स्काउटले आफूलाई सहयोगी संस्थाका रुपमा उभ्याउन सफल भएको छ।

गत वर्ष जेठ ३ गते सिन्धुपाल्चोककी २९ वर्षिय महिलाको कोरोना संक्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भयो । काेराेनाका कारण नेपालमा मृत्यु भएकाे याे पहिलाे घटना थियाे । यसको पुष्टि भएपछि अस्पतालको एम्बुलेन्सले शव बोक्न मानेन। संक्रमण फैलने डरले अरु कुनै पनि एम्बुलेन्सले शव बोक्न नमानेपछि भक्तपूर अस्पतालको विपत व्यवस्थापन विभागले विशेष प्रकारको एम्बुलेन्स धुलिखेल पठाउने निर्णय गर्यो । तर महिलाको शव छुने आँट गर्न कोहि तयार भएनन् । यहि अवस्थामा नेपाल स्काउट भक्तपूरका तालिम प्राप्त २ यूवाहरु एम्बुलेन्समा जान तयार भए ।

नेपाल स्काउट अन्तर्गत जिल्ला स्काउट कार्यालय भक्तपूरमा सक्रिय स्काउटर अरुण सैंजु र राजेश गाइजुको टोलीले धुलिखेल अस्पतालबाट ती महिलाको शव पशुपति आर्यघाटसम्म पुर्‍याउने काम गरेका थिए । कसैले शव बोक्न नमानेपछि नेपाल स्काउटका स्काउटरहरुले यसको नेतृत्व गरेर पशुपतिको विद्युतिय शवदाह गृहसम्म शव पुर्याएको र जलाइसकेपछि उनीहरु फर्किएका थिए ।

याे त एउटा प्रतिनिधि उदाहरण मात्र हाे । कोरोना भाइरसको महामारी व्यापक भएपछि नेपाल स्काउटले आफ्नै पहल र अन्य विभिन्न संस्थाहरुसँगको सहकार्यमा कोरोनाविरुद्ध धेरै अभियानहरू सुरु गरेको छ र अबका दिनमा पनि यस्ता अभियान जारी राख्ने जनाएकाे छ। नेपाल स्काउटले हालसम्म सञ्चालन गरेका मुख्य कार्यक्रमहरु के के छन् ?

१) SMS Campaign/ SMS Reinforcement
गतवर्ष कोरोना महामारी सुरु भएपश्चात नेपाल स्काउटले युनिसेफसँगको सहकार्यमा कोरोनाबाट बच्न हात धुने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षात्मक क्रियाकलाप परिपालन गर्न गराउन SMS Campaign देशव्यापीरुपमा सञ्चालन गरेको थियो । यस कार्यक्रम अन्तर्गत नेपाल स्काउटका स्वयंसेवकहरु गाउँ शहरका मुख्य चोक र बस्तीहरुमा गई प्रत्यक्ष संवाद गरी जनचेतना फैलाउने कार्य गरेका थिए । सो कार्यक्रममा देशभर ४०० जना स्काउट प्रत्येक दिन परिचालित भएका थिए। नेपाल स्काउटले कोरोना महामारीको प्रभाव कम हुँदै भएको अवस्थामा पनि उतिकै सक्रियरुपमा नियमित कार्यक्रम सञ्चालन गरिरहेको थियो ।

हाल यो कार्यक्रम सञ्चालनमा प्रभावकारिता ल्याउन कार्यक्रमको मोडालिटीमा केही परिमार्जन गरी SMS Reinforcement Campaign को रुपमा देशभर सञ्चालित छ। अहिलेपनि ४०० जना स्काउट स्वयंसेवकहरु प्रत्येक दिन कोरोना संक्रमणबाट बच्ने उपाय सिकाउँदै सक्रियरुपमा लागिरहेका छन् ।

२) खोप केन्द्रमा सेवा
नेपाल स्काउटले हाल सञ्चालनमा रहेका खोप केन्द्रहरुमा स्थानीय तहको सहकार्यमा खोप लगाउन आउने सर्वसाधारणको लागि सहजीकरण गर्ने कार्य गरिरहेको छ। नेपाल सरकारले देशवासीहरुलाई विभिन्न प्राथमिकता क्रममा राखी खोप लगाउने निर्णय गरेसँगै नेपाल स्काउट सहजीकरणका लागि अगाडि आएको हो। उपत्यकाका विभिन्न स्थानका २१ वटा खोप केन्द्रहरुमा १२५ जना स्काउट स्वयंसेवीहरु परिचालित भई कार्य गरिरहेका छन्। हाललाई जेठ १४ गतेसम्म चल्ने खोप अभियानमा स्काउटहरु परिचालन हुनेछन् ।

कोरोना भाइरसको महामारी व्यापक भएपछि नेपाल स्काउटले आफ्नै पहल र अन्य विभिन्न संस्थाहरुसँगको सहकार्यमा कोरोनाविरुद्ध धेरै अभियानहरू सुरु गरेको छ र अबका दिनमा पनि यस्ता अभियान जारी राख्ने जनाएकाे छ।

३) अनलाइन स्वास्थ्य परामर्श सेवा
कोरोना महामारीले व्यापक प्रभाव पारेका कारणले सामान्य तथा अन्य गम्भीर रोग लागेका बिरामीहरुलाई असुविधा भएको अवस्थामा नेपाल स्काउटले अनलाइन तथा फोनको माध्यमबाट स्वास्थ्य परामर्श सेवा शुरु गरेको छ। नेपाल स्काउट राष्टिय प्रधान कार्यालयसँगको समन्वयमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुलाई बिरामीहरुले सोझै सम्पर्क गरी परामर्श लिनेदिने व्यवस्था स्काउटले गरेको हो। प्रदेश १ बाट सुरु गरिएको सो कार्यक्रम बाग्मति प्रदेश र लुम्बिनी प्रदेशमा पनि सञ्चालनमा आइसकेको छ भने क्रमशः सातै प्रदेशमा यो कार्यक्रम सञ्चालनमा आउने व्यवस्था मिलाइएको छ। यस कार्यक्रम मार्फत हालसम्म ५९ जना चिकित्सकहरुले करीव ५०० जना भन्दा बढि बिरामीहरुलाई परामर्श सेवा प्रदान गरिसकेका छन्।

४) नन कोभिड बिरामी एम्बुलेन्स सेवा सञ्चालन
कोरोना बाहेकका बिरामीहरुलाई पर्ने समस्यालाई मध्यनजर गरी उनीहरुलाई अस्पताल वा स्वास्थ्यकर्मीहरुसम्म पुग्ने व्यवस्था गर्न नेपाल स्काउटले Non-COVID Ambulance Service नामको सेवा आरम्भ गरिसकेको छ। नेपाल स्काउटका राष्टिय संयोजक श्री लोकबहादुर भण्डारीबाट शुभारम्भ भई सो सेवा हाल उपत्यका भित्र सञ्चालनमा ल्याइएको छ। नेपाल स्काउटको एउटा गाडी र बाग्मति प्रदेश समिति सदस्य श्री अजित लामाले निजी सवारी साधन समेत नेपाल स्काउटको उक्त प्रयोजनका लागि प्रदान गरेपछि दुईवटा गाडी मार्पmत नेपाल स्काउटले यो सेवा सञ्चालन गर्दै आएको छ। यो सेवामा बाग्मति प्रदेश समिति सदस्य अजित लामा, बाग्मति प्रदेश समिति सदस्य समेत रहेका पर्वतारोही स्काउटर प्रकाशराज पाण्डे र ललितपुर महानगर समिति सदस्य बिकेन्द्र महर्जन परिचालित रहेका छन् । यसप्रकारको सेवा अन्य प्रदेश र देशका ठूला शहरहरुमा पनि सञ्चालन गर्न सवारी साधनको व्यवस्थापन गर्ने कार्य भइरहेको छ। हालसम्म यो सेवाबाट २० लाभान्वित भइसकेका छन्।

५) स्वास्थ्यकर्मीलाई Shuttle Service
कोरोना महामारी व्यापक भएसँगै सार्वजनिक सवारीसाधन बन्द भएको र अस्पतालका सवारीसाधनहरु अपर्याप्त भएका कारणले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आवतजावत गर्न समस्या रहेको जानकारी आएपछि नेपाल स्काउटले आफ्नो सवारीसाधन स्वास्थ्यकर्मीहरुका लागि Shuttle Service को रुपमा सञ्चालनमा ल्याएको थियो । यस सेवाबाट चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरु समयमै अस्पताल पुगी स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुगेको थियो । यस सेवा मार्फत २५० जना स्वास्थ्यकर्मीहरुलाई सेवा प्रदान गरिएको थियो।

६) केन्द्र र स्थानीय स्तरमा खाना र पशुपक्षीलाई आहार वितरण
नेपाल स्काउटले देशभर विभिन्न स्थानमा कोरोना महामारीका कारण अप्ठेरोमा परेका सर्वसाधारणलाई खाना खुवाउने कार्य गरेको थियो । कोरोनाका कारण व्यवसायहरु बन्द भएपछि रोजगारी विहिन भएका, लकडाउका कारण घर जान नपाएका कयौं व्यक्तिहरुलाई देशका विभिन्न स्थानहरुमा स्काउटले निःशुल्क खाना वितरण गर्ने, खाद्यपदार्थ वितरण गर्ने कार्य गरेको थियो ।

साथै, कोरोना महामारीकै कारण मान्छेहरुको आवतजावत बन्द हुने र मठमन्दिर तथा रेष्टुरेन्ट होटल व्यवसाय आदि बन्द भएका कारण भोकै मर्न लागेका पशुपन्छीलाई आहार वितरण गरिएको थियो । स्काउट सबै पशुपन्छी तथा जनावरहरुप्रति दयालु हुन्छ भन्ने स्काउटको नियमको अनुसरण गर्दै धार्मिक स्थल र अन्य स्थानका जनावर तथा पशुपन्छीलाई खाना उपलब्ध गराइएको थियो । यस कार्यमा नेपाल स्काउटका निर्देशक श्री रामप्रसाद भट्टराई लगायत सक्रिय स्काउटर तथा नेपाल स्काउटका कर्मचारीहरु खटिनुभएको थियो ।

७) विद्यालयहरुमा मास्क वितरण
नेपाल स्काउटले विभिन्न संस्थाहरुसँग सहकार्य गरी विद्यालयहरुमा मास्क वितरण गर्ने कार्य गरेको छ । कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि नाक मुख छोप्न मास्क नैं मुख्य प्रभावकारी माध्यम भएकाले बालबालिकाहरुमा यसको प्रकोप बढ्न नदिन विद्यालय तहमै मास्क वितरण गर्ने र मास्को उचित प्रयोग, हातको सरसफाई र सामाजिक दुरी कायम गर्ने सम्बन्धमा जनचेतना फैलाउने कार्य समेत गरिएको थियो ।

८) हात धुने स्थलहरु स्थापना र सञ्चालन
नेपाल स्काउटले देशका धेरै जनसंख्या भएका मुख्य शहरका मुख्यमुख्य स्थानहरुमा हात धुने स्थान तयार गरी सर्वसाधारणको प्रयोगमा ल्याएको थियो । कोरोना संक्रमण फैलनबाट रोक्न ७५ वटा स्थानहरुमा सार्वजनिक हात धुने स्थानको स्थापना गरिएको थियो । यस कार्यमा नेपाल स्काउटका ६२५ जना स्काउट स्वयंसेवीहरु खटिएका थिए भने ४९४३४ जना नागरीक प्रत्यक्ष लाभान्वित भई कोरोनाको संक्रमण फैलनबाट रोक्न सकिएको छ।  

९) शव व्यवस्थापन
नेपाल स्काउटले कोरोना महामारीका कारण ज्यान गुमाउनेहरुको संख्यामा वृद्धि हुँदै गएकोले शव व्यवस्थापनमा समेत कठिनाई भइरहेको हुँदा उक्त कार्यमा पनि सहयोगको निमित्त अघि सरेको छ । कोरोनाका कारण मृत्यु भएको पहिलो व्यक्तिको शव व्यवस्थापनमा नेपाल स्काउटका स्वयंसेवीहरु नैं अग्रसर भएका थिए। भक्तपुरका स्काउटरहरु श्री अरुण सैंजु, श्री राजेश गाइजु र श्री न्हुजा किजु लगायतको टोली हालसम्म पनि शव व्यवस्थापनको काममा लागिरहेको छ। हालै नेपाल स्काउट प्रदेश नं १ मा नेपाली सेनाबाट शव व्यवस्थापन सम्बन्धी प्रशिक्षण लिई स्काउटका १५ जना स्वयंसेवीहरु शव व्यवस्थापनमा खटिएका छन्।

१०) हेल्प डेस्कको स्थापना
नेपाल स्काउटले राजधानी तथा देशका अन्य शहरहरुमा कोरोना सम्बन्धी जनचेतना र स्वास्थ्य सेवा प्राप्त गर्न सहजीकरण गर्ने उदेश्यले हेल्प डेस्कको स्थापना गरेको छ । गण्डकी प्रदेशमा २० जना स्काउट स्वयंसेवीहरु प्रदेशका ११ वटै जिल्लाका अस्पतालहरुमा उपलब्ध कोभिड बेड, आइ सि यु बेड, भेन्टीलेटर बेड, अक्सीजन बेडको तथ्याङ्कहरु संकलन र अधावधिक गर्ने कार्य गरिरहेका छन् । साथै कोभिड विरामीहरुलाई आवश्यक औषधी र अक्सिजनको ब्यवस्थापनमा सहजीकरण गर्ने कार्य गरिरहेका छन् ।

यसरी नेपाल स्काउटले अप्ठयाराेमा परेका नागरिकका लागि सहयाेगीकाे भूमिका मात्र निभाएकाे छैन, एउटा अभिभावककाे रूपमा पनि आफूलाई उभ्याएकाे छ।

Logo