प्रारम्भ सामाजिक संस्था ललितपुर र आनि छोइङ डोल्मा फाउन्डेसन काठमाडौँको सहयोगमा पनौती र बनेपा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाको समन्वयमा शुक्रबार प्रारम्भ र फाउन्डेसनद्वारा अक्सिजन कन्सनट्रेटर दुई/दुई थान, पिपिई २०/२० थान सेट, पल्स अक्सिमिटर पाँच, पाँच थान हस्तान्तरण गरिएको हो। प्रारम्भ अध्यक्ष कल्पना क्षेत्री र फाउन्डेसनकी आनि छोईङ डोल्माले पनौती नगरपालिकामा वरिष्ठ प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारी र बनेपामा प्रमुख प्रशासकीय प्रमुख कविराज उप्रेतीलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।
सिंगापुर रेडक्रसका प्रतिनिधि कल्पना क्षेत्रीसहित नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष बद्रिराज तिमल्सिना, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा लगायतको उपस्थितीमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा डोल्माले प्रारम्भ र सिंगापुर रेडक्रसको संयुक्त प्रयास र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाको सिफारिशमा पनौती र बनेपामा स्वास्थ्य सामग्री दिएको बताउँदै विपत्तिको समयमा स्थानीय तहलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन्। कोरोनाको महामारीको समयमा नगरलाई अतिआवश्यक स्वास्थ्य सामग्री दिएकोमा दुबै नगरपालिकाले धन्यवाद दिएका थिए।
यसअघि पत्रकार महासंघ काभ्रे शाखाकै पहलमा धुलिखेल र पाँचखाल नगरपालिकालाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। मंगलबार प्रारम्भ सामाजिक संस्थाले अक्सिजन कन्सनट्रेटर दुई/दुई थान, पिपिई २०/२० थान सेट, पल्स अक्सिमिटर पाँच/पाँच थान हस्तान्तरण गरेको थियो।
प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष एवम सिंगापुर रेडक्रसका प्रतिनिधि कल्पना क्षेत्रीले धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जु र पाँचखाल नगरप्रमुख महेश खरेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी थिइन्। हस्तान्तरण कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्मा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतको उपस्थिति रहेको थियो।





























प्रतिक्रिया