सरकारद्वारा आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट सार्वजनिक (भिडियो)

सरकारद्वारा आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पूँजीगततर्फ ३ खर्ब ४७ अर्ब र वित्तीय व्यवस्थाका लागि २ खर्ब ७ अर्ब विनियोजन गरेको छ । 

सार्वजनिक बजेट अनुसार आगामी वर्ष राजस्वबाट १० खर्ब २४ अर्ब, वैदेशिक ऋणबाट ३ खर्ब २९ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब स्रोत व्यवस्थापन गरिने बताइएको छ। जसमा कोरोना संक्रमण रोकथाम र स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिकता दिइएको छ। कोभिड खोप खरिदका लागि मात्र २६ अर्ब बजेट बिनियोजन गरिएको छ। यसैगरी सरकारले आगामि आर्थिक वर्षका लागि सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ भने, खेलकुद क्षेत्रमा पनि बजेटको आकार बढाइएको छ।  

सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि १०.५० प्रतिशतले बढि बजेट विनियोजन गरेको छ । जसमा, सरकारले आयकरका दायरा तथा दरमा हेरफेर गरेको छ । करदातालाई उनीहरुको आयस्तरका आधारमा छुटको घोषणा गरिएको छ। सधैं जस्तै यो वर्ष मदिरा तथा सुर्तीजन्य पदार्थको अन्तः शुल्क बढाइने भएको छ । यस्तै नयाँ बजेटले आफ्ना धेरै सुझाव समेटको भन्दै निजी क्षेत्रले बजेटको स्वागत गरेको छ। 

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा सरकारले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृिद्ध गरेको छ। योसँगै अब जेष्ठ नागरिक भत्ता प्रति महिना ४ हजार पुगेको छ। यस्तै सरकारले सरकारी कर्मचारीको तलब पनि २ हजार रुपैयाँले बृद्धि गरेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई नेपालका लागि कोभिडविरुद्धको खोप सहयोग गर्न पत्र लेख्दै अनुरोध गरेकी छिन् । नेपालको राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका पठाएको पत्रलाई शनिबार राजदूत युवराज खतिवडा अमेरिकाको विदेश मन्त्रालयमै पुगेर हस्तान्तरण गरेका छन्। यस्तै नेपालको पछिल्लो अवस्थाबारे अमेरिकी विदेश मन्त्रालयमा अमेरिकाका लागि नेपाली राजदूत यूवराज खतिवडाको ब्रिफिङ गरेका छन्। 

विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज इराकको सामना गर्दैछ। खेल स्थानीय समय अनुसार ७ः३० (नेपाली समयअनुसार राति १०ः१५) माअल फैहा स्टेडियममा हुनेछ। खेलमा दर्शकलाई निषेध गरिएको छ। आज हुने खेलमा नेपाली फुटबल टिम इतिहासमै पहिलो पटक सेतो जर्सीमा उत्रदैछ।

Logo