नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बजेट अहिलेसम्मकै उत्कृष्ट भएको बताएका छन्।
नाडा लगायत निजी क्षेत्रले उठाउँदै आएका एजेन्डाहरु सम्पूर्ण बजेटमा समावेश भएको छ। उनले भने, ‘नेपालकै इतिहासमा पहिलो पटक सबैभन्दा उत्कृष्ट बजेट आयो।’
सरकारले व्यवसायीहरुलाई ठूलो राहत दिएको उनको प्रतिक्रिया छ। सरकारले २० लाख रुपैयाँसम्मको व्यवसाय गर्नेलाई ९० प्रतिशत आयकर छुट, १ करोडसम्मको व्यवसाय गर्नेको ५० प्रतिशत आयकर छुट दिइनु बजेटको राम्रो पक्ष भएको दुलालले बताए।
रुग्ण उद्योगहरुलाई ५ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने, स्टार्टअप बिजनेसलाई ५ वर्षसम्म आयकर नलाग्ने, उद्योगले प्रयोग गर्ने डिजेल र ग्याँसको भ्यालु क्लेम गर्न पाइने व्यवस्था हुनु राम्रो भएको दुलालले बताए।
त्यस्तै, देशभर ५ सय वटा चार्जिङ स्टेसन बनाउने, भ्याटको खाता प्रमाणित गर्ने नियम खारेज, स्वचालित करचुक्ता प्रमाणपत्र पाउने, भन्सारमा कारोबार मूल्यमा आधारित जाँचपास हुने निर्णय पनि उत्कृष्ट भएको उनले बताए।
साझाले सयवटा विद्युतीय गाडी तुरुन्त थप गर्ने तथा विद्युतीय गाडीलाई प्राथमिकता दिने गरी बजेट सार्वजनिक हुनु राम्रो पक्ष रहेको दुलालले प्रतिक्रिया दिए।
त्यस्तै, उनले विद्युतीय सवारी साधनमा लाग्दै आएको र नाडाले माग गर्दै आएको भन्सार कर छुट मागलाई बजेटले सम्बोधन गरेको बताए । यो अत्यन्तै राम्रो पक्ष हो। उनले भने, 'अटोमोवाइल क्षेत्र मात्रै नभएर समग्र बजेटमा नै राम्रो उद्योगमैत्री र सरकार भएको अनुभूति हुने गरि बजेट आएको छ। अब कार्यान्वयन पक्ष राम्रो भए बजेट व्यवसायीमुखी र जनतामुखी छ।'





























प्रतिक्रिया