काठमाडौं ।
लमजुङ, सप्तरी र चितवनमा गरि थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा मंगलबार ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । असोज १८ गते कोरोना सङ्क्रमण भई कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा भर्ना भई उपचाररत लमजुङ, बेंसीशहर नगरपालिका वडा नं २ निवासी पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सहप्रा डा अर्जुन आचार्यले जानकारी दिए । प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुने निज बाह्रौँ सङ्क्रमित रहेको अस्पतालले जनाएको छ ।
चितवनमा होम आइसोलेसनमा वृद्धाको मृत्यु
जिल्लामा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं १ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको मंगलबार निधन भएको हो । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनी घरमा नै आइसोलेसनमा बस्दै आएकी थिइन् । श्वासप्रश्वासमा समस्या देखिएको उनको मंगलबार दिउसो ४ बजे मृत्यु भएको हो ।
जनप्रतिनिधिको कोरोनाबाट मृत्यु
उता सप्तरीका कोरोना संक्रमित एक जनप्रतिनिधिको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार तिरहुत गाउँपालिका–३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको मृत्यु भएको हो । अर्बुदरोगग्रस्त वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उपचारका क्रममा कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ आएको थियो । यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
१० संक्रमित थप
यहाँ मंगलबार एक नेपाली सैनिकसहित थप १० जनामा कोरोना पुष्टि भएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या एक हजार ४५३ पुगेको छ । तीमध्ये एक हजार १२९ घर फर्केका छन् ।





























प्रतिक्रिया