सरकारको निर्णयसँगै विवादमा सुकेटार विमानस्थलको नाम, निर्णय नसच्याए आन्दोलनको चेतावनी

सरकारको निर्णयसँगै विवादमा सुकेटार विमानस्थलको नाम, निर्णय नसच्याए आन्दोलनको चेतावनी

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गर्ने सरकारको निर्णय विवादमा परेको छ।

बजेट भाषणमा सरकारले ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई स्व.रवीन्द्र अधिकारी विमानस्थलको नाममा परिवर्तन गर्ने निर्णय गरेसँगै सरोकारवालाहरुले आपत्ती जनाउन थालेका छन्।

उक्त निर्णयप्रति ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने पूर्वसांसद तथा एमाले नेता योगेश भट्टराईसहित ताप्लेजुङ सरोकार केन्द्रले समेत आपत्ती जनाएको छ। 

स्थानीयको भावना विपरित ऐतिहासिक पहिचानसँग जोडिएको सुकेटार विमानस्थलको नाम परिर्वतन गरिएको भन्दै सरोकार केन्द्रले आपत्ती जनाएको हो । सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले आइतबार विज्ञप्ति जारी गरेर सुकेटार विमानस्थलको नाम परिवर्तन आफूहरुलाई मान्य नहुने जनाएका छन्। 

आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामाकरणको घोषणा गरिएको थियो ।

सरोकार केन्द्रले ताप्लेजुङबासीलाई सुकेटार नामले अपनत्व रहेको र सबैको लागि यो नाम प्रिय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

अध्यक्ष साँवाले रवीन्द्र अधिकारीप्रति आफूहरुको सम्मान रहे पनि स्थानीय र सरोकारवालाहरुको भावना विपरित भएको विमानस्थलको नयाँ नामाकरणको घोषणा मान्य नहुने बताएका छन् । 

विज्ञप्तिमा भनेका छन्, ‘स्थानीय र सरोकारवालाको माग भएमा ऐतिहासिक र औचित्यताको आधारमा कुनै पनि ठाउँको नाम परिवर्तन गर्नु पर्ने हुनसक्छ । स्थानीयको माग पनि नभई, ऐतिहासिकतालाई ख्यालै नगरी स्वेच्छाचारी तरिकाले नाम फेर्ने कुराले समाजलाई भाँड्ने मात्रै गर्छ।’

सरकारले नाम परिर्वतन गर्ने निर्णय नसच्याए विरोधमा उत्रिने र विरोधमा उत्रिन ताप्लेजुङबासी र सरोकारबालाहरुलाई केन्द्रले आव्हान गरेको छ।

Logo