७० प्रतिशत उद्योग-व्यवसाय कोरोनाबाट प्रभावितः महासङ्घ

७० प्रतिशत उद्योग-व्यवसाय कोरोनाबाट प्रभावितः महासङ्घ

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारी र बन्दाबन्दीका कारण करिब देशभरका ७० प्रतिशत उद्योग-व्यवसाय प्रत्यक्ष प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ। कोरोना प्रभावबारे उद्योगी-व्यवसायी लगायतसँगको टेलिफोन सर्भेका आधारमा यस्तो अनुमान गरिएको महासङ्घले जनाएको छ। महासङ्घका अनुसार प्रदेशगत रूपमा हेर्दा प्रदेश १ मा ८२.७ प्रतिशत, गण्डकीमा ७५ प्रतिशत, बागमतीमा ६९ प्रतिशत, प्रदेश २ मा ६९ प्रतिशत, लुम्बिनी प्रदेशमा ६४.५ प्रतिशत, सुदूरपश्चिममा ५७.७ प्रतिशत र कर्णाली प्रदेशमा ४५.५ प्रतिशत उद्योग–व्यवसायमा असर देखिएको महासङ्घले जनाएको छ।

महासङ्घले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग जारी बन्दाबन्दी र निषेधाज्ञाले उद्योग–व्यवसायमा पारेको असरका विषयमा टेलिफोन संवाद गरेको थियो। प्राप्त विवरणअनुसार खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धित, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग–व्यवसाय, पिउने पानी, कृषिबाहेकका सबै क्षेत्रका उद्योग–व्यवसाय ठप्प छन्। पसलहरू बिहान तीन–चार घण्टा मात्र खुल्ने गरेका छन्।

दोस्रो लहरको कोभिड सङ्क्रमणको विस्तार भएसँगै महासङ्घले विषम परिस्थितिमा निजी क्षेत्र, सरकार र आमसर्वसाधारणको साथमा रहेको प्रतिबद्धता जनाउँदै सबै सञ्जाल परिचालित गरिएको महासङ्घले जनाएको छ। महासङ्घका अनुसार यसबीचमा करिब एक सयवटा जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरू यतिबेला कुनै न कुनै रूपमा मानवीय सहायतासँग जोडिएका छन्।

महासङ्घका केही सदस्य उद्योग वाणिज्य सङ्घहरूले राहत कोष नै खडा गरी स्वास्थ्य सहयोग गरिरहेका छन् । कतिपयले स्थानीय निकाय र अस्पतालसँग समन्वय गरी बेड विस्तार, आईसीयू वार्ड निर्माण, कोरोना विशेष अस्पताल निर्माण, आइसोलेसन केन्द्र निर्माण तथा सञ्चालनलगायतमा सहयोग गरिरहेका छन् । त्यस्तै कतिपय सङ्घहरूले स्थानीय निकाय र स्थानीय अस्पतालसँग मिलेर अक्सिजन प्लान्ट स्थापनाकै तयारीमा लागेका छन्।

महासङ्घका वस्तुगत सङ्घहरूले पनि आआफ्नो तहबाट सहयोग गरिरहेको बताइएको छ। महासङ्घ आफैँले पनि काठमाडौँ र ललितपुरमा गरी तीनवटा आइसोलसेन सञ्चालन गरी कोभिड सङ्क्रमितको उपचार, खाने बस्ने व्यवस्थाका लागि सहयोग गरिरहेको छ। यसका लागि महासङ्घले राहत कोष नै खडा गरेको छ। महासङ्घले क्षेत्रपाटीस्थित पुरानो गोरखा अस्पतालमा चलाएको आइसोलेसन केन्द्र अक्सिजनसहित चालू छ भने जैन निकेतन कमलपोखरी र अक्षेश्वर महाविहार ललितपुरमा अक्सिजनबिनाको ड्राइ आइसोलेसन सञ्चालन गरिरहेको छ।गाेरखापत्रबाट

Skip This
Skip This
Logo