भारतमा कोरोना भाइरस महामारी (कोभिड-१९) बाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ। यो सहित भारतमा कोभिड-१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा एक लाख ३२ हजार ७८८ जना नयाँ संक्रमित थपिएका छन्। यो सहित भारतमा बुधबारसम्म कूल संक्रमितको संख्या दुई करोड ८३ लाख नाघेको छ।
तर संक्रमितमध्ये दुई करोड ६१ लाख ७९ हजार निको भएका छन्। अझै १७ लाख ९३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामै रहेका छन्। तर यो संख्या विगत २४ घण्टामा एक लाखले कमी आएको हो।
मन्त्रालयका अनुसार भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्यामा निकै कमी आएको छ।
भारतमा गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान थालनी गरिएको थियो। हालसम्म देशभर करिब २१ करोड ८० लाख डोज खोप लगाइएको छ । तर भारतका कैयौं स्थानमा खोपको अभाव देखिएको तथा खोप केन्द्रहरुमा मानिसहरुको ठूलो भिड लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
भारतले हाल १८ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप दिने नीति लिएको छ। मन्त्रालयका अनुसार, मङ्गलबार एकै दिन भारतमा २३ लाख ९७ हजार डोज खोप दिइएको छ।
यसैबीच, भारतले कोभिड–१९ को परीक्षण सुविधालाई अझ सहजीकरण र व्यापक बनाएको छ । हालसम्म भारतमा ३५ करोड नमुना परीक्षण गरिएको छ।
चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ
भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ। आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिए।
होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोना भाइरसबाट सङ्क्रमित एक विरामीको मृत्यु भएपछि मंगलबार डा. सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो।
चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ।
स्थानीय प्रहरी अधिकारीहरुले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिइने दावी गरेका छन्।
“घटनामा संलग्न र दोषी ठानिएका २४ जनालाई हामीले पक्राउ गरेका छौँ, थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढिरहेको छ,” मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
महामारीका विरुद्धमा अग्रमोर्चामा रहेर लडिरहेका चिकित्सकहरुमाथि भएको आक्रमण र व्यवहार अक्षम्य भएको प्रहरी महानिर्देशक भास्कर ज्योति महन्तले बताए।
उनीमाथिको आक्रमण सबै अग्रपंक्तिका सेवकहरुमाथिको आक्रमण भएको र त्यसले अरुलाई पनि निराश बनाउन सक्ने खतरा भएको महन्तको भनाई थियो ।रासस































प्रतिक्रिया