कृषिमा उत्पादनमुलक कार्यक्रम र उचित नीतिको खाँचो

कृषिमा उत्पादनमुलक कार्यक्रम र उचित नीतिको खाँचो

केन्द्रबिन्दु
0
Shares

कृषि क्षेत्रका विज्ञ तथा व्यबसायीहरुले व्यबसायीक कृषिका लागि उत्पादनमुलक कार्यक्रम र नीतिको खाँचो औंल्याएका छन् । उनीहरुले कृषिको बजेट र अनुदानमा समानताको आवश्यकतामा पनि जोड दिएका छन् । मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको वेवीनार कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले मन्त्रालयले साना र सिमान्तकृत किसानका लागि सहुलियतदरमा ऋण उपलब्ध गराउन पहल गरिरहेको बताए।  

उनले भने, ‘मन्त्रालयले १० लाख भन्दा कम रकम सहुलियत व्याजदरमा किसानलाई उपलब्ध गराउने विषयमा बैंकहरुसँग छलफल गरिरहेका छौं।’ कृषि बीमाको कभरेजलाई कसरी बढाउने भन्नेमा आफूहरु लागि परेको भन्दै सचिव कार्कीले कृषि ज्ञान केन्द्रमार्फत यस विषयमा किसानहरुलाई सूचना दिनुपर्ने बताए। 

उनले संघ, प्रदेश र स्थानीय तहमा अनुदानको दायरा एउटै हुनुपर्ने भन्दै यसले एकरुपता आउने र दोहोरोपना घट्ने बताए । 

उनले कोभिड १९ का कारण कृषिमा परेको असरलाई कसरी समेटेर लैजाने भनेर मन्त्रालयले योजना बनाएको बताए । विदेशी राष्ट्रले गरेका कृषिका प्राक्टिसलाई सिक्दै अगाडी बढाउँदै जानुपर्ने उनको भनाइ छ। उनले प्राङ्गारिक, जैविक मल लगायतका कृषि सम्बन्धी राम्रा कार्यक्रमहरु आएपनि त्यो पर्याप्त भने नभएको बताए । 

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट तुलनात्मक रुपमा सन्तोषणजनक रहेको उनको भनाइ छ। उनले आर्थिक अध्यादेश प्रमाणीकरणमा सरकारले कृषकहरुलाई छुटको दायरा बढाएको बताए। 

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष तथा बरिष्ठ उद्यमी पवन गोल्यानले  कृषि क्षेत्रमा साना किसानको विकासमा टेवा पुर्याउनु आवश्यक रहेको बताए। 

उनले सरकारले कृषिमा छुट्याएको बजेट वास्तविक कृषकसम्म पुग्न नसकेको बताए । कृषिमा सीप, मल, कृषियन्त्र, सिँचाइको अभाव र बजारीकरणको समस्या रहेको भन्दै बजेट जतिसुकै आएपनि केहि नहुने बताए। उनले कृषिको प्रशोधन, उत्पादन भएका वस्तुको बजारीकरणका लागि संरचना बनाउनु पर्ने बताए। 

कृषि कर्जा प्रवाहमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले कृषिका लागि आन्दोलन नै आवश्यक भएकोमा जोड दिए । ‘उत्पादन गर्ने व्यक्ति सबै समान छन्् सबै कुराको विकास भयो, तर उत्पादन र कृषिको व्यबसायमा विकास भएन, यसका लागि आन्दोलन नै गर्नु परेपनि म तयार छु’ 

सोही कार्यक्रममा वरिष्ठ कृषि उद्यमी गुणचन्द्र विष्टले कृषिको बजेट परम्परागत भन्दामाथि जान नसकेको बताए। उनले सरकारले ल्याएको बजेटमा पैसा थुपार्ने भन्दा केहि नयाँ कार्यक्रम नदेखिएको उल्लेख गरे । ‘कृषिमा बजेट केहि पनि छैन, ६० प्रतिशत कृषिमा आश्रीत हुँदा बजेट ३ प्रतिशत पनि छैन’ उनले भने। 

त्यस्तै कफी व्यवसायी महासंघका संस्थापक अध्यक्ष एवं कफी उद्यमी ढकेश्वर घिमिरेले कफिक्षेत्रमा नीतिगत, अनुसन्धान तथा उत्पादन बढाउने विषयमा समस्या भएको बताए। 

मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषको अध्यक्षतामा भएको कार्यक्रममा कृषकहरु फनिनारायण अर्याल, गोविन्दप्रसाद आचार्य, बुद्ध लामा, भोजराज श्रेष्ठ, नारायणप्रसाद पंगेनी, यम कार्की, राजन गैरे, सरिता  श्रेष्ठ, शान्त लामा, माया तिवारी, श्रीकृष्ण अधिकारी, पृथ्वी भुजेल लगायतले कृषिमा अनुदान आएपनि पहुँचवालाको हालिमुहाली भएको भन्दै साना किसानको पहुँच राज्यसँग पुग्न नसकेको गुनासो गरेका थिए। 

Logo