कामचलाउ प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै पूर्णता दिएका छन् । बिहीबार एमालेबाट ६ र जनता समाजवादी पार्टीबाट एक जनालाई सहभागी गराएर २५ सदस्यीय मन्त्रिपरिषद्लाई ओलीले पूर्णता दिएका हुन् । ओली प्रधानमन्त्री भएयता उनले गरेको यो मन्त्रिपरिषद् हेरफेर १९औं पटक हो ।
राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिएर नव नियुक्त मन्त्रीहरूले बिहीबारै नै पदभारसमेत ग्रहण गरेका छन् । पुनर्गठित मन्त्रिमण्डलमा खगराज अधिकारीले गृह, राजकिशोर यादवले उद्योग वाणिज्य तथा आपूर्ति, नैनकला थापाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, गणेश पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहनबहादुर बानियाँ, प्रधानमन्त्री कार्यालय, नारदमुनी राना वन तथा वातावरण, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकासमन्त्री भएका छन् । आशाकुमारी विक वन तथा वातावरण राज्यमन्त्री बनेकी छिन् । रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओली आफैले राखेका छन् ।
नेकपा विभाजनसँगै एमालेमै रहेको पूर्व माओवादी समूहबाट थापा र साह मन्त्री बनेका छन् । राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष समेत रहेकी थापा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’की पत्नी हुन् । त्यस्तै, साह बाराबाट प्रदेश सभा सांसद थिइन् । तर, एमाले प्रवेशसँगै उनलाई माओवादी केन्द्रले पदमुक्त गरेको थियो ।
राजकिशोर यादव पूर्व सञ्चारमन्त्री समेत हुन् । सरकारमा यादवको सहभागितासँगै जसपाका तर्फबाट नौ मन्त्री र दुई राज्यमन्त्रीसहित ११ जना ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी भएका छन् । जसपालाई आठ मन्त्रालय दिने सहमति भए पनि प्रतिनिधिसभा पुनस्र्थापना भएको खण्डमा सरकार जोगाउन सहज हुने अंकगणितलाई मध्यनजर गर्दै ओलीले यादवलाई समेत मन्त्री बनाएको स्रोतको दाबी छ ।
एमालेबाट गृहमन्त्री बनेका अधिकारीले राजकीय मामिलाको महत्वपूर्ण विभागीय जिम्मेवारी पाएका छन् । झण्डै तीन दशकदेखि ओलीलाई साथ दिँदै आएका अधिकारी तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री थिए । करिब साढे चार दशकको राजनीतिक पृष्ठभूमि भएका अधिकारी ओलीलाई साथ दिने दोस्रो पुस्ताको ‘सिनियर’ नेता भएर पनि नवौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका कारण जुनियर नेताहरूले स्थायी कमिटी र पदाधिकारीको जिम्मेवारी निभाउँदा पार्टी जिम्मेवारीमा पछि परेका थिए ।
त्यस्तै, तीन साताअघिसम्म माधव नेपाल समूहमा रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पहाडीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । हस्ताक्षर अस्वीकार गरेका पहाडी नेपाल समूहका दोस्रो पुस्ताका नेताहरू योगेश भट्टराई र घनश्याम भुसालनिकट मानिन्छन् । दुई कार्यकाल लगातार सिन्धुलीबाट प्रत्यक्ष सांसद निर्वाचित पहाडी डेढ वर्षअघिको विस्तारित मन्त्रिपरिषद्मै मन्त्री बन्ने चर्चामा थिए ।
अनेरास्ववियु र पार्टीको सम्पर्क मञ्चको राजनीतिक पृष्ठभूमि र सिभिल इन्जिनियरसमेत रहेका पहाडीको मन्त्रिमण्डल प्रवेशसँगै नेपाल–खनाल समूहमा निरन्तर पार्टी एकताको वकालत गर्दै आएका दोस्रो पुस्ताका नेताहरू भट्टराई, भुसालसहित सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य अन्ततः ओलीसँग मिलेरै जाने पक्षमा रहेको चर्चा चलेको छ । नेपाल–खनाल समूहले ओलीको ६ बुँदे एकता आह्वानलाई अस्वीकार गरेपछि पनि पाँच नेता लगातार एकता वार्तामा सहभागी हुँदै आएका छन् ।
त्यस्तै, वनमन्त्री रानाले पछिल्लो प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस सभापति देउवापत्नी डा. आरजु देउवालाई कैलाली– ५ मा पराजित गरेका थिए । थारू समुदाय र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने रानालाई मन्त्री बनाउनैपर्ने दबाबमा ओली थिए ।
त्यस्तै, प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका बानियाँले दुर्गम क्षेत्र मुगुबाट प्रतिनिधित्व गरेका छन् । उनी एमालेको केन्द्रीय कमिटी सदस्य तथा मुगुबाट निर्वाचित सांसद हुन् । पछिल्लो पटक उपाध्यक्ष वामदेव गौतमलाई छाडेर ओली समूहमा सामेल भएका थिए । वन राज्यमन्त्री विक बझाङबाट निर्वाचित समानुपातिकतर्फकी सांसद हुन् ।
ओली समूहका नेताहरू छविलाल विश्वकर्मा, गोकुल बाँस्कोटा, महेश बस्नेत, विशाल भट्टराई, ईश्वरी रिजाल विश्वकर्मा, राजेन्द्र गौतम, कर्ण थापा, सुजिता शाक्य, विमला राई पौडेल, राजेन्द्र राईलगायत मन्त्री बन्ने चर्चामा रहे पनि विस्तारित मन्त्रिमण्डलमा छुटेका छन् । चर्चामा रहेकामध्ये बाँस्कोटा, विश्वकर्मा, बस्नेत र थापा पूर्वमन्त्री थिए भने बाँकी नयाँ अनुहारका रूपमा चर्चामा थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।





























प्रतिक्रिया