केही दिन अघि मात्रै बाला, विक्की डोनर, सनम रे जस्ता चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री यामी गौतमले उरीः द सर्जिकल स्ट्राइक चलचित्रका निर्देशक आदित्य धरसँग विवाह गरेकी छिन् । आदित्यले उरी चलचित्रबाट बलिउडमा निर्देशकको रुपमा डेब्यू गरेका थिए। कोरोना महामारीको बीचमा यी दुईको विवाहको तस्विरहरु अचानक सार्वजनिक हुँदा दर्शकहरु आश्यर्चमा परेका थिए ।
दुबैले कोरोना माहामारीका कारण निजी समारोहमा विवाहका कार्यक्रमहरु गरेका थिए । जसमा केही परिवारका सदस्यहरु मात्र सामेल भएका थिए । यामी गौतमले निर्देशकसँग विवाह गर्नु अघि पनि धेरै बलिउड अभिनेत्रीहरुले निर्देशकहरुसँग विवाह गरिसकेका छन् । को को हुन त ती अभिनेत्रीहरु ?
रानी मुखर्जी–आदित्य चोपडा
बलिउडकी लोकप्रिय अभिनेत्री रानी मुखर्जीले सन् २०१४ मा दिलवाले दुल्हनियाले जाइङ्गे, मोहब्बतें, रब ने बना दी जोडी, बेफिक्रे जस्ता चर्चित चलचित्रका निर्देशक आदित्य चोपडासँग विवाह गरेकी थिइन् ।
रानी मुखर्जी र आदित्य चोपडाको एक छोरी पनि छिन् । उनीहरुको छोरीको नाम अदिरा हो । रानीसँग विवाह गर्नु भन्दा अगाडि आदित्यको पायल खन्नासँग विवाह भएको थियो । तर, उनीहरुबीच सन् २००९ मै सम्बन्ध विच्छेद भइससकेको थियो । सम्बन्ध विच्छेद भएको पाँच वर्षपछि रानीसँग आदित्यले दोस्रो विवाह गरेका हुन् ।
रानीले कुच कुच होताहे, कभी खुशी कभी गम, कहीँ प्यार ना हो जाए, साथिया, कभि अलबिदा ना केहेना, भिर जरा, हम तुम जस्ता दर्जनौं सुपर हिट चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् ।
कल्कि कोचेलिन–अनुराग कश्यप
एक थी डायन, देव डी, शैतान, जिन्दगी ना मिलेगी दोबारा, ये जवानी है दीवानी जस्ता चलचित्रको हिस्सा बनेकी अभिनेत्री कल्कि कोचेलिनले सन् २०११ मा निर्देशक अनुराग कश्यपसँग विवाह गरेकी थिइन् । तर, उनीहरुले विवाहको ४ वर्षपछि सन् २०१५ मा नै सम्बन्ध विच्छेद गरेका थिए । उनीहरुको पहिलो भेट अनुराग निर्देशित चलचित्र देव डीमा भएको थियो ।
हाल अभिनेत्री कल्कि उनका इजरायली शास्त्रीय पियानोवादक प्रेमी गाय हरशबर्गसँग बसिरहेकी छिन्। कल्कि र उनको प्रेमीबाट एक छोरी पनि जन्मिसकेको छ।
सोनाली बन्द्रे–गोल्डी बहल
अभिनेत्री सोनाली बन्द्रेले सन् १९९८ मा गोल्डी बहलद्वारा निर्देशित चलचित्र आंगारेमा मुख्य भूमिकामा खेलेकी थिइन् । उक्त चलचित्रको सेटबाटै दुवैको निकटता बढेको थियो र उनीहरुको मित्रता प्रेममा परिणत भयो। केही समयको प्रेम सम्बन्धपछि सन् २००२ मा उनीहरुले विवाह गरेका थिए। उनीहरुको एक छोरा पनि छ।
सोनी रजदान–महेश भट्ट
सन् १९८१ म रिलिज भएको चलचित्र ३६ चौरंगी लेनबाट बलिउडमा डेब्यू गरेकी बलिउड अभिनेत्री सोनी रजदानीले लोकप्रिय बलिउड चलचित्र निर्माता, निर्देशक तथा लेखक महेश भट्टसँग सन् १९८६ मा विवाह गरेकी थिइन् । सोनी रजदान र महेश भट्टको दुई छोरीहरु छन् । अभिनेत्री आलिया भट्ट र शाहीन भट्ट उनीहरुका छोरीहरु हुन् ।
शेफाली शाह–विपुल अमृतलाल शाह
सन् १९९५ मा चलचित्र रंगीलाबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री शेफाली शाहले पहिलो विवाह हर्ष छायासँग सन् १९९७ मा विवाह गरेकी थिइन्। तर अभिनेत्री शेफालीको पहिलो विवाह असफल भएपछि उनले चलचित्र निर्मातासँग विवाह गरेकी थिइन् । अभिनेत्री शेफालीले निर्देशक विपुल अमृतलाल शाहसँग सन् २००१ मा विवाह गरेकी थिइन् । चलचित्र दरियाको छायाङ्कनको क्रममा दुई नजिकीएका थिए । त्यसको केही समयपछि उनीहरुले विवाह पनि गरेका थिए । यी दम्पतीका दुई छोराहरु छन् ।
बख्तवार खान (सोनम)–राजीव राई
त्रिदेव, क्रोड, सम्राट जस्ता धेरै चलचित्रहरुमा काम गरिसकेकी अभिनेत्री सोनमले पनि चलचित्र निर्देशकसँग विवाह गरेकी थिइन । अभिनेत्री सोनमले सन् १९९१ मा त्रिदेव, विश्वात्मा जस्ता चलचित्रका निर्देशक राजीव राईसँग विवाह गरेकी थिइन् ।
अन्डरवल्र्डबाट ज्यान मार्ने धम्की पाएपछि उनीहरुले सन् १९९७ मा भारत छोडेका थिए । पछि दम्पती भारत फर्किए तर अहिले उनीहरु अलग भइसकेका छन् । दम्पतिको एक छोरा पनि छ । राजीवबाट छुट्टिएपछि अभिनेत्री सोनमले दोस्रो विवाह पनि गरिसकेकी छिन् । उनले दोस्रो विवाह डाक्टरसँग गरेकी छिन् ।
उदिता गोस्वामी–मोहित सुरी
पाप, जहर जस्ता चलचित्रमा अभिनय गरिसकेकी बलिउड अभिनेत्री उदिता गोस्वामीले पनि निर्देशकसँग विवाह गरेकी छिन् । अभिनेत्री उदिताले सन् २०१३ मा आशिकी २, एक भिलेन, मलंग जस्ता सुपरहिट चलचित्रका निर्देशक मोहित सुरीसँग विवाह गरेकी हुन् । दम्पती दुई सन्तानको अभिभावक पनि बनिसकेका छन् ।
दीप्ति नवल–प्रकाश झा
एक समयकी लोकप्रिय अभिनेत्री दीप्ति नवलले चलचित्र निर्माता प्रकाश झासँग विवाह गरेकी थिइन् । सन् १९८४ मा रिलिज भएको चलचित्र हिप हिप हुर्रेको सेटमा दम्पतीको भेट भएको थियो । त्यसको एक वर्षपछि उनीहरुले विवाह गरेका थिए।
अभिनेत्री दीप्ति नवल आफैं पनि एक निर्देशक तथा लेखक पनि हुन् । ७९ वर्षीया दीप्तिको मुख्य योगदान बलिउड सिनेमा क्षेत्रमा रहेको छ । जसले भारतमा महिलाको परिवर्तनकारी भूमिकामा जोड दिएको छ।





























प्रतिक्रिया