युरोकप २०२० को समूह चरण अन्तर्गत नेपाली समय अनुसार आज राति १२ः४५ मा नेदरल्याण्ड्स र युक्रेन भिड्दैछन्। नेदरल्याण्ड्सको राजधानी एम्स्टरडामस्थित योहान क्रौफ एरिनामा हुन गइरहेको म्याच ‘समूह सी’ को दोस्रो म्याच हो। ‘समूह सी’ कै अस्ट्रिया र म्यासेडोनिया पनि आज राति ९ः४५ मा भिड्दैछन्।
युरोकपको आयोजक युएफाले राखेको अनलाइन पोलमा दिउँसो ३ बजेसम्ममा नेदरल्याण्ड्सले जित्छ भन्ने अपेक्षा ८० प्रतिशतले गरेका छन् भने १४ प्रतिशत युक्रेनको पक्षमा रहेका छन्। त्यस्तै ६ प्रतिशत भने बराबरीको अपेक्षा गरिरहेका छन्।
पछिल्ला ६ म्याचहरूमध्ये ४ मा जीत हासिल गर्न सफल नेदरल्याण्ड्सले १ खेलमा हार ब्यहोर्दै गर्दा एक खेल भने बराबरीमा सीमित गरेको थियो। युक्रेन भने पछिल्ला ६ खेलमध्ये २ मात्र जित्न सफल भए पनि बाँकी ४ खेल बराबरीमा टुङ्ग्याउँदै अविजित रहेको छ। यसरी हेर्दा युक्रेनको जीतको संख्या कम भए पनि यसपटक कम आँक्न भने नसकिने अवस्था छ।
पछिल्लो हप्ता भएको मैत्रीपूर्ण म्याचमा जर्जियालाई ३–० ले पराजित गरेको नेदरल्याण्ड्स घरेलु मैदानमा आत्मबलका साथ प्रस्तुत हुने निश्चित छ।
नेदरल्याण्ड्सका स्टार खेलाडी मेम्फिस डिपै अहिले फर्ममा छन्। उनले लिग वानका ६ खेलमा ६ गोल गरेका थिए भने स्कटल्याण्डसँग भएको खेलमा पनि गोल गर्न सफल भएका थिए। तर, नेदरल्याण्ड्सका डिफेन्डर भर्जिल भन डाइक चोटपटकका कारण सहभागि हुन नसकेकाले रक्षामा केहि समस्या नेदरल्याण्ड्सले झेल्नुपर्ने हुन सक्छ। त्यस्तै मिडफिल्डर डनी भान डबेक पनि चोटपटकका कारण अनुपस्थित रहनेछन्।
यता साइप्रस र नर्दन आयरल्याण्डसँग भएको मैत्री वार्मअप खेलमा एक गोल पनि नखाएको युक्रेन पनि उच्च आत्मबलसहित प्रस्तुत हुने देखिन्छ।
नेदरल्याण्ड्सको टिममा स्टार खेलाडीहरूको कमीका कारण यस म्याचका लागि स्पोर्ट्स मोलले बराबरीको आँकलन गरेको छ भने बेलायतको एभिनिङ स्टान्डर्डले नेदरल्याण्ड्सले २–० ले जित्ने आँकलन गरेको छ। केहि खेलाडीहरू घाइते नभइदिएको भए यो खेल नेदरल्याण्ड्सका लागि सहज थियो। त्यसैले यस खेलको नतिजा युक्रेनभन्दा नेदरल्याण्ड्सका खेलाडीहरूले कस्तो प्रदर्शन गर्छन् भन्नेमा भर पर्ने देखिन्छ। यस म्याचमा नेदरल्याण्ड्सको जीत आश्चर्यजनक भने हुनेछैन।





























प्रतिक्रिया