काठमाडौं उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा असार १ गतेदेखि असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। यसपटकको निषेधाज्ञामा अत्यावश्यक सेवा, सुविधामा केही सहज गरिएको छ।
अत्यावश्यक बाहेकका सार्वजनिक तथा नीजि सवारी साधनलाई भने असार ७ गतेसम्मै सञ्चालनमा रोक लगाइएको छ। यद्यपी औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाधरुपमा सञ्चालन गर्न पाइनेछ। तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ।
त्यस्तै पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा बिहान ११ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ। विकास निर्माणजन्य सामग्रीका पसलहरु छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर पसल दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति गर्न दिइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
यस्तै अत्यावश्यक वस्तुहरुको अनलाईन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ। सवारी साधन मर्मतका लागि वर्कशपहरु बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने भएको छ। निर्माण सामग्री ढुवानीका लागि सवारी साधन राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।





























प्रतिक्रिया