कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ५२८ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, ०७८ बमोजिम कारवाही गरिएको छ। पछिल्लो २४ घण्टामा उनीहरूलाई कारबाही गरी रु ५३ हजार ४०० जरिवाना गरिएको प्रहरीले जानकारी दिएको छ। आज चार हजार ३१७ जनालाई सचेत गराई छाडिएको छ।
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार ९६८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी दिएको छ।
तीन लाख नगद चोरी
काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट करिब रु तीन लाख नगद आज चोरी भएको छ। भुइँ तलाको आगन्तुक कोठा खुलै रहेको अवस्थामा सुटकेशमा राखेको उक्त नगद चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। चोरी गर्ने व्यक्तिको खोजी जारी छ।
यसैबीच काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित रामबहादुर तामाङको घरको दोस्रो तलामा एक महिला मृत फेला परेकी छिन्। मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको पहिचान समेत खुलेको छैन।रासस





























प्रतिक्रिया