कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको १६ औं संस्करणको युरोकप २०२० सुरु भइसकेको छ । इटालीको रोमस्थित ओलम्पिक स्टेडियममा उद्घाटन खेलमा इटाली र टर्कीले प्रतिस्पर्धा गर्दै युरोकप सुरु भएको हो।
फिफा विश्वकपपछिको रोमाञ्चक मानिने यस खेलले सबैको ध्यान केन्द्रित गरेको छ । यतिमात्र होइन कुन खेलाडीले कस्तो खेल्छ भनेर पनि सबैको चासोको विषय बनेको छ युरोकप । त्यसैले आज हामी युरोकप खेल्ने ११ चर्चित खेलाडीहरुका बारेमा चर्चा गर्न गइरहेका छौं।
१. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
३६ बर्षीय पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो खेलाडी जीवनको अन्तिमजस्तै ठूलो प्रतियोगिताको रुपमा युरोकप खेलिरहेका छन् । पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डो यस युरोकप २०२० मा भने देशका लागि सर्वाधिक गोलकर्ता बनेर कीर्तिमान राख्ने उद्देश्यले मैदान उत्रिएका छन्
यसअघि सन् २०१६ मा पोर्चुगलले युरोकप जित्दा रोनाल्डोको महत्वपूर्ण भूमिका रहेको थियो । उनले तीन गोल गरका थिए । तर, फ्रान्सविरुद्धको फाइनलमा भने चोटका कारण उनी धेरै बेर मैदानमा टिक्न सकेनन् ।
लामो समय रियल म्याड्रिड क्लबबाट खेलेका रोनाल्डो हाल युभेन्ट्स क्लबमा आबद्ध छन् । रियल म्याड्रिड क्लबका लागि ४ सय ५१ गोल गरेका उनले युभेन्ट्सका लागि पनि ३६ गोल गरिसकेका छन् ।
२. केइलिन एम्बाप्पे (फ्रान्स)
सन् १९९८ मा जन्मिएका २२ वर्षे युवा खेलाडी काइलिन एम्बाप्पे फ्रान्सेली व्यवसायिक फुटबल खेलाडी हुन् । १९ वर्षको उमेरमै एम्बाप्पेलाई विश्वकै उत्कृष्ट युवा फुटबलर घोषणा गर्नुका साथै उनलाई फुटबल जगतको उदाउँदो नक्षत्रको रुपमा समेत चित्रण गरिएको छ । सन् २०१५ मा मोनाको क्लबबाट व्यवसायिक फुटबलमा डेब्यू गरेका उनले आफ्नो जादुमय खेलले सबैको ध्यान आफूतिर केन्द्रित गर्न सफल भए ।
सन् २०१८ को फिफा विश्वकपमा फ्रान्सका लागि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका एम्बाप्पेलाई यस युरोकपमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
यस्तै सन् २०१७ मा सम्पन्न भएको युइएफए च्याम्पियन्स लिगमा दश गोल गर्ने एम्बाप्पे सबैभन्दा कान्छा खेलाडीसमेत हुन् । एम्बाप्पेले फ्रान्सको उमेर समूह टिम यू १७ र १९ टिमलाई प्रतिनित्ब गरिसकेका छन् । हाल उनी पेरिस सेन्ट–जर्मन क्लबमा आबद्ध छन् ।
३. रोमेलु लुकाकु (बेल्जियम)
शारीरिक तथा प्राविधिकरुपमा निकै नै बलिया स्ट्राइकर रोमेलु लुकाकुले युरोकप २०२० को पहिलो खेलमै रुसबिरुद्ध २ गोल गरेका छन् । अग्रपंक्तिमा विपक्षी डिफेण्डरलाई सहजै बिट गर्न माहिर २८ वर्षिय लुकाकु बेल्जियमको मुख्य हतियारको रुपमा रहनेछन् ।
लुकाकुले बेल्जियमको उमेर समूह टिम यू–१५, १८, २१ हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । उनले हालसम्म ९३ खेलमा ६० गोल गरेका छन् । लुकाकु बेल्जियमका सर्बाधिक गोलकर्तासमेत हुन् । आफ्नो पोजिसनमा सहजै भिज्ने, पेनाल्टीमा सफल प्रहार र फिनिसिङसमेत उत्कृष्ट रहेको लुकाकुलाई रोक्न विपक्षी टिमलाई हम्मेहम्मे पर्छ ।
इटालियन क्लब इन्टर मिलानबाट खेलिरहेका लुकाकुले यस अघि इंग्लिस प्रिमियर लिगका विभिन्न क्लबबाट खेलिसकेका छन् । उनले इन्टर अघि चेल्सी, एभर्टन र म्यानचेस्टर युनाईटेडबाट खेलिसकेका छन् ।
बेल्जियम विश्वको शीर्ष वरीयतामा रहेको छ । यस टिमलाई युरो २०२० को उपाधि दाबेदारसमेत मानिएको छ । २०१८ को विश्वकपमा बेल्जियम तेस्रो स्थानमा आएको थियो ।
४. रहिम स्ट्रर्लिङ (इंग्ल्यान्ड)
इंग्लिस क्लब म्यानचेस्टर सिटीका २६ वर्षे अट्याकिङ मिडफिल्डर रहिम स्टर्लिङ उमेर समूह होस् या सिनियर टोलीमा उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । जमैकामा जन्मिएका स्टर्लिङ त्यसपछि लण्डन सरेका हुन् । क्विन्स पार्क रेन्जर्सबाट फुटबल सुरु गरेका स्टर्लिङ त्यसपछि लिभरपुलमा आबद्ध भएका थिए । लिभरपुलमा रहँदा गोल्डेन ब्वाई अवार्ड पाएका स्टर्लिङ त्यसपछि सिटी आएका हुन् । स्टर्लिङ सिटीले तीन पटक प्रिमियर लिगको उपाधि हात पार्दाका महत्वपूर्ण खेलाडी हुन् ।
स्टर्लिङले इंग्ल्यान्डको यू–१६, १७, १९, २१ टिमबाट समेत खेलिसकेका छन् । राष्ट्रिय टोलीबाट ६१ क्याप जितेका स्टर्लिङले १४ गोल गरेका छन्।
५. रोबर्ट लेवान्डोस्की (पोल्यान्ड)
३२ वर्षीय पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्की आफ्नो खेलाडी जीवनको सबैभन्दा सफल समयमा रहेका छन् । लेवान्डोस्कीले भर्खरै बुन्डेसलिगामा सर्वकालीन सर्वाधिक गोलको कीर्तिमान तोडेका थिए । उनले गड मुलरको लामो समयको कीर्तिमान भंग गर्दै एकै सिजनमा २९ खेलमा ४१ गोल गरेका थिए । पछिल्ला प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएकाले यस युरोकप २०२० मा पोल्यान्डको प्रदर्शनमा लेवान्डोस्कीको भूमिका महत्वपूर्ण हुने आशा गरिएको छ ।
६. करिम बेन्जेमा (फ्रान्स)
३३ वर्षिय फ्रान्सेली टिममा स्ट्राइकर करिम बेन्जेमाको पुनरागमनले फ्रान्स थप बलियो टिम बनेको छ । सन् २०१५ को विवादास्पद ‘ब्ल्याकमेल’ काण्डमा फसे यता उनले फ्रान्सका लागि खेलेका थिएनन् । तर, ६ वर्षपछि फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले बेन्जेमालाई बोलाउने निर्णय गरेका थिए ।
रियल म्याड्रिडका स्टार खेलाडी बेन्जेमाले यो सिजनमा मात्र व्यक्तिगत ३० गोल गरेर निकै सफल रहे । २०१८ को विश्वकप च्याम्पियन फ्रान्स बेन्जेमाको आगमनले पक्कै पनि अझ बलियो टिम भएको छ । यसैले बेन्जेमाको उपस्थितिले फ्रान्सेली आक्रमण अझ तिखो हुनेछ । फ्रान्स गत युरोकपमा फाइनल खेलेको टिमसमेत हो ।
७. इभान पेरिसिच (क्रोएसिया)
३२ वर्षीय विंगर पेरिसिच अन्तर्राष्ट्रिय फुटबलमा चर्चित नाम हो । सन् २०१८ विश्वकपमा क्रोएसिया उपविजेता बन्दा उनको महत्वपूर्ण भूमिका रहेको थियो । इभानले विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध गोल र गोलका लागि पाससमेत उपलब्ध गराएका थिए ।
इभान इटालियन क्लब इन्टर मिलानसँग अनुबन्धित छन्। तर, पछिल्लो सिजन भने लोनमा जर्मन च्याम्पियन बायर्न म्युनिखबाट खेलेका थिए। इभानसँग उमेर समूहको यू–१७, १९, २१ सहित राष्ट्रिय टोलीबाट खेलेका अनुभव छ । राष्ट्रिय टोलीबाट इभानले १०१ खेलमा २८ गोल गरेका छन् । अनुभवी खेलाडी इभानसँग जर्मन, इटालीको घरेलु लिगमा गरेको प्रदर्शनको उच्चस्तरको अनुभव रहेको छ।
८. ह्यारी केन (इंग्ल्यान्ड)
इंग्ल्यान्डका प्रमुख स्ट्राइकर तथा कप्तान ह्यारी केन २७ वर्षका भए। पछिल्लो विश्वकपका सर्वाधिक गोलकर्ता बनेका केनले युरो छनोटमा १२ गोल गरेका छन् । उनी इंग्लिस प्रिमियर लिगको पछिल्लो सिजनका सर्वाधिक गोलकर्तासमेत हुन्। उनले २३ गोल गरेका थिए । कम उपलब्धि हात पार्ने टोटेनहम क्लबबाट खेलिरहेका केनले टोटेनहमका लागि यति धेरै गोल गरेका हुन्। यसकारण युरो २०२० मा पनि केनले राम्रो खेल्ने दर्शकको अपेक्षा रहेको छ।
९. एलेक्जेन्डर गोलोभिन (रुस)
रुसका गोलोभिन टिमका लागि मुख्य खेलाडी हुन् । युरोकप २०२० पहिलो खेलमा रुस बेल्जियमसँग ३–० ले पराजित भएको छ । तर सेन्टर मिडफिल्डर तथा विगरको भूमिका निर्वाह गर्ने गोलोभिनले रुसका लागि राम्रो खेलेका थिए। उनले काउण्टरमा टोलीलाई साथ दिए।
फ्रेन्च लिग वान क्लब मोनाकोबाट खेल्दै आएका २५ वर्षीय गोलोभिन अट्याकिङ मिडफिल्डरसमेत हुन् । उनीसँग रुसी क्लब मस्कोबाट खेलेको अनुभवसमेत रहेको छ । उनलाई रुसको यू–१७, १८, १९, २१ टोलीबाट खेलेका अनुभव पनि छ । गोलोभिनले रुसका लागि ३८ खेलमा ५ गोल गरेका छन् । बल कन्ट्रोल, पकडमा राखेर खेल्नु उनको खुबी हो ।
१०. जेरार्ड मोरेनो (स्पेन)
२९ वर्षीय जेरार्ड मोरेनोले स्पेनी ला लिगामा पछिल्लो सिजन २३ गोल गरेका थिए । लियोनल मेसी जेरार्ड भन्दा पहिले ला लिगामा बढी गोल गर्ने एकै मात्र खेलाडी थिए ।
भिल्लारियलले युरोपा लिग उपाधि जित्दाको यात्रामा जेरार्डले सात गोल गरेका थिए । जसमा उनले पेनाल्टी पनि प्रहार गरेका थिए । सर्जियो बुस्केटको नेतृत्वमा युरोकपमा छनोट खेल्दा जेरार्डले स्पेनका लागि डेब्यू अवसर पाएका थिए । यसपटक स्टार खेलाडीको हकमा भने स्पेनी टिम पहिलेको टिम जस्तो छैन तर, अहिलेको टिममा प्रतिभाशाली खेलाडीको भने कुनै कमी छैन ।
११. लुका मोड्रिच (क्रोएसिया)
क्रोएसियाका ३५ वर्षीय कप्तान लुका मोड्रिच रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । लुका मोड्रिच २ वर्ष अघि फिफा बर्ष खेलाडी घोषित भएका थिए। पोर्चुगीस क्रिष्टियानो रोनाल्डो र इजिप्टका महम्मद सालेहलाई पछि पार्दै मोड्रिच बर्ष खेलाडी बनेका थिए। मोड्रिचकै कप्तानीमा क्रोएसियाले २०१८ को विश्वकपको फाइनलमा स्थान बनाएको थियो ।































प्रतिक्रिया