काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो बनाइएको छ। आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा असार १ गतेदेखि असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने तर पहिले भन्दा केही खुकुलो बनाउने निर्णय गरेको थियो। यसपटकको निषेधाज्ञामा अत्यावश्यक सेवा, सुविधामा केही सहज गरिएको छ। 

अत्यावश्यक बाहेकका सार्वजनिक तथा नीजि सवारी साधनलाई भने असार ७ गतेसम्मै सञ्चालनमा रोक लगाइएको छ। यद्यपी औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाधरुपमा सञ्चालन गर्न पाइनेछ। तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। 

त्यस्तै पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा बिहान ११ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ। विकास निर्माणजन्य सामग्रीका पसलहरु छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर पसल दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति गर्न दिइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

यस्तै अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ। सवारी साधन मर्मतका लागि वर्कशपहरु बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने भएको छ। निर्माण सामग्री ढुवानीका लागि सवारी साधन राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

Logo