प्रविधि विकास, अनुसन्धान र नवप्रवर्तनका लागि नास्ट र काठमाडौं महानगरबीच सहकार्य

प्रविधि विकास, अनुसन्धान र नवप्रवर्तनका लागि नास्ट र काठमाडौं महानगरबीच सहकार्य

केन्द्रबिन्दु
0
Shares

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र काठमाडौँ महानगरपालिकाबीच आपसी हितको विषयर्मा  समझदारी भएको छ। नास्टका तर्फबाट उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका तर्फबाट मेयर विद्यासुन्दर शाक्यले मंगलबार समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। 

सहरी अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने, स्मार्ट सहरका लागि आवश्यक प्रविधिको विकास गर्ने, युवाहरूमा उद्यमशीलत प्रवद्र्धन गर्ने, वैज्ञानिक चेतनाको प्रसार गर्न नास्ट परिसरमा विज्ञान पार्कको विकास गर्ने, सहरी कृषिको प्रवद्र्धनमार्फत् काठमाडौँलाई ‘खाद्य हरियाली सहर’ बनाउने, महानगरपालिकाले बनाउने संरचनाको गुणस्तर परीक्षण गर्ने, कोभिड–१९ का लागि अनुसन्धानमा सहकार्य गर्नेलगायत विषय सम्झौतापत्रमा समेटिएका छन्। 

नास्ट र काठमाडौँ महानगरपालिकाबीच भएको सम्झौता नास्टलाई स्थानीय तहसम्म पुर्याउने योजनाको एउटा पाटोको रूपमा आएको नास्टका प्रवक्ता डा. सुरेशकुमार  ढुङ्गेलले बताए। 

‘हामीले विज्ञान र प्रविधिलाई सरकारका अन्य गतिविधिजस्तै राष्ट्र र समाजको तल्लो तहसम्म पु¥याउन स्थानीय सरकारसँग सहकार्य गर्दै आएका छौँ,’ डा. ढुङ्गेलले भने, ‘त्यही सिलसिलामा काठमाडौँ महानगरसँग सहमति भएको हो। यसअघि कोरोना महामारीको पहिलो लहरमा हामीले मोबाइल स्वाब कलेक्सन बुथ बनाएर महानगरलाई हस्तान्तरण गरेका थियौं।’

यसअघि नास्टले काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिकासँगको सहकार्यमा विज्ञानसम्बन्धी अन्तर्क्रिया पनि आयोजना गरेको थियो। 

नास्टको अनुसन्धानलाई स्थानीय सरकारको स्रोतमार्फत् थप दरिलो बनाउने र विज्ञान प्रविधिसम्बन्धी नयाँ खोजलाई आममानिसम्म पुर्याउने उद्देश्यले स्थानीय सरकारसँग नास्टले समन्वय गर्न थालेको डा.ढुङ्गेलको भनाइ छ।  

Logo