निषेधाज्ञामा पनि घट्यो विद्युतीय भुक्तानी कारोबार, मोबाइल बैंकिङमा भने वृद्धि

निषेधाज्ञामा पनि घट्यो विद्युतीय भुक्तानी कारोबार, मोबाइल बैंकिङमा भने वृद्धि

केन्द्रबिन्दु
0
Shares

विगत केही वर्षदेखि नेपालमा डिजिटल कारोबार बढ्दै गएको छ।गत वर्ष कोरोना महामारीको कारण ८ महिना लकडाउन हुँदा नेपालमा डिजिटल भुक्तानी प्रणालीमा आमूल परिवर्तन भएको देखिन्छ।

महामारीभन्दा पहिला पनि डिजिटल कारोबार हुने गरेको थियो। तर त्यति उत्साहजनकरुपमा भने कारोबार हुने गरेको थिएन । तर कोरोना भाइरस महामारीका कारण लागू भएको गत वर्षको लकडाउन र निषेधाज्ञाका कारण प्राय बैंक तथा वित्तीय संस्थाहरु बन्द भए। त्यस्तै अन्य व्यवसायसमेत बन्द हुँदा अनलाइन कारोबारमा मानिसहरुको ध्यान केन्द्रीत हुँदा डिजिटल कारोबार बढेको थियो।

त्यस्तै, नेपाल राष्ट्र बैंकले पनि केही वर्षदेखि डिजिटल कारोबारलाई प्राथमिकता दिने नीति लिएको छ। त्यसबाट पनि डिजिटल भुक्तानी प्रणाली बढ्नुमा ठूलो सहयोग पुगेको देखिन्छ । गतवर्ष राष्ट्र बैंकमा महाप्रसाद अधिकारी  गभर्नरमा नियुक्त भए पश्चात् अझ प्राथमिकताका साथ अघि बढाएका थिए। त्यही अनुसार बैंकहरुले पनि डिजिटल कारोबारलाई आक्रामकरुपमा अघि बढाउँदै आएका छन्। 

तर, पछिल्लो पटक कोरोनाको दोस्रो लहर फैलिएसँगै संक्रमण नियन्त्रणका लागि डेढ महिनादेखि निषेधाज्ञा जारी रहेको छ। तर निषेधाज्ञाको अवधि गत चैत महिनाको तुलनामा वैशाख महिनामा विद्युतीय भुक्तानी कारोबारमा गिरावट आएको छ। गत चैतमा भएको कारोबारको तुलनामा वैशाख महिनामा विद्युतीय भुक्तानी कारोबार ५ खर्ब ३७ अर्ब ६८ करोड रुपैयाँले घटेको छ।

नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारमा आरटिजीएस, एटिएम, इसीसी, आइपीएस, अनेन्ट आइपीएस, डेविट, क्रेडिट र प्रिपेड कार्ड, इन्टरनेट मोबाइल बैंकिङ, वालेट, क्युआर, पिओस र इकर्मश पेमेन्टलाई समावेश गरी तथ्यांक सार्वजनिक गरेको छ।

उक्त सार्वजनिक तथ्यांकअनुसार गत चैत मसान्तसम्म कुल ३६ खर्ब ८६ अर्ब ६० करोड रुपैयाँ बराबरको विद्युतीय भुक्तानी कारोबार भएको थियो। तर वैशाख मसान्तसम्म आइपुग्दा यस्तो कारोबार ३१ खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ । यस्तो कारोबार गत चैत महिनाको तुलनामा वैशाखमा १४.५८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

निषेधाज्ञा अवधिमा समग्र विद्युतीय भुक्तानी कारोबार घटे पनि यो अवधिमा मोबाइल बैंकिङ कारोबार भने बढेको छ। गत चैत महिनाको भन्दा वैशाख महिनामा मोबाइल बैंकिङ कारोबार २३ करोड ५० लाख रुपैयाँले बढेको छ। 

गत चैत महिनामा मोबाइल बैंकिङ ४८ अर्ब ६५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। वैशाख महिनामा आइपुग्दा ०.४८ प्रतिशतले वृद्धि भएर ४८ अर्ब ८८ करोड ७० लाख रुपैयाँ पुगेको छ।

सरकारले कोभिड १९ को संक्रमण जोखिम न्यून गर्न गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेकाले मानिसहरू सहजरुपमा आवतजावतमा अवरोधले गर्दा भौतिक उपस्थितमा हुने बैंकिङ कारोबार घट्दा मोबाइल बैकिङ कारोबार बढेको नेपाल राष्ट्र बैंकका भुक्तानी विभागका निर्देशक निश्चल अधिकारीले बताए।

उनका अनुसार डेढ महिनादेखि काठमाडौं उपत्यका लगायत देशैभरि निषेधाज्ञा लागू भएकाले आर्थिक गतिविधि ठप्प भएर पसल, डिपार्टमेन्ट स्टोर लगायत अन्य गतिविधि हुन नपाउँदा समग्र विद्युतिय डिजिटल भुक्तानी कारोबार घट्न गएको छ। 

उनले भने, 'निषेधाज्ञा लागू हुँदा यातायात, व्यापार व्यवसाय, विभिन्न डिजिटल पेमेन्ट पसलहरु डिपार्टमेन्ट स्टोर बन्द भएकाले कारोबार घटेको हो। मोवाइल बैंकिङ भने सबैले घरबसेर नै कारोबार गर्न सक्ने भएकाले बढेको हो। सबै व्यापार व्यवसाय खुलेपछि पुनः बढ्दै जानेछ।'

त्यस्तै, गत चैत महिनाको तुलनामा वैशाख महिनामा आरटिजीएस १ खर्ब ९६ अर्ब ८ करोड रुपैयाँले घटेर १९ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। एटिएम कारोबारमा १२ अर्ब ५३ करोड रुपैयाँले घटेर ५८ अर्ब ६ करोड रुपैयाँ र इसीसी कारोबार २ खर्ब ७३ अर्ब ४७ करोड रुपैयाँले घटेर ६ खर्ब ५७ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, आइपीएसमार्फतको कारोबार ३७ अर्ब ५५ करोड रुपैयाँले घटेर १ खर्ब ७३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। यता कनेन्ट आइपीएस कारोबारमा पनि ५३ करोड रुपैयाँले घटेर १ खर्ब ४१ अर्ब २७ करोड मात्रै भएको छ।

त्यस्तै, डेविटकार्ड कारोबार १३ अर्ब ४४ करोड रुपैयाँले घटेर ६० अर्ब ६९ करोड, क्रेडिट कार्ड कारोबार ४४ करोड रुपैयाँले घटेर ६९ करोड र प्रिपेड कार्ड कारोबार १ करोड ५० लाख रुपैयाँले घटेर ६ करोड १० लाख रुपैयाँमा सीमित भएको छ। 

गत चैत महिनामा भएको कारोबारमा वैशाख महिनामा इन्टरनेट बैंकिङ कारोबार १३ करोड रुपैयाँले घटेर १० अर्ब ८ करोड मात्रै भएको छ।

त्यस्तै वालेट कारोबार १९ करोड रुपैयाँले घटेर १० अर्ब १० करोड, क्युआर कारोबार १९ करोड रुपैयाँले घटेर २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। यता पिओस कारोबार १ अर्ब ७ करोड रुपैयाँले घटेर २ अर्ब ६१ करोड र इकर्मश पेमेन्ट कारोबार २९ करोड रुपैयाँले घटेर ७६ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ।

Skip This
Skip This
Logo